आइतवार , जेठ १७, २०८३
काठमाडौँ, १७ जेठ । राष्ट्रिय सभाको हालैको बैठकमा सदस्यहरूले आगामी आर्थिक वर्षको बजेट, विद्युत आपूर्तिमा देखिएको अवरोध, जातीय विभेद र सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुन्य समयमा बोल्दै सांसदहरूले जनसरोकारका मुद्दामा सरकार उदासीन रहेको आरोप लगाएका हुन् । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको आईतवारको बैठकमा सांसदहरूले सुर्खेतको प्राकृतिक ग्याँस उत्खनन, विद्युत आपूर्तिमा देखिएका अवरोध, बजेटका सीमा र सामाजिक न्यायका विविध विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
सांसदहरूले विकास निर्माणदेखि जनजीविकाका सवालमा सरकारको प्रभावकारी उपस्थिति नदेखिएको भन्दै आलोचना समेत गरेका हुन् । बैठकमा सांसद गोमादेवी तिमिल्सेनाले आगामी आर्थिक वर्षको बजेटले उद्योग सञ्चालनका लागि ठोस कार्यक्रम र बजेट विनियोजन गर्न नसकेको टिप्पणी गर्नुभयो ।
बजेट वक्तव्यमा उद्योगका कुरा सुनिए पनि व्यवहारमा कार्यान्वयन गर्ने आधार नदेखिएको उल्लेख गर्नुभयो । उहाँले सुकुम्बासी, गरिब किसान र मजदुरका समस्या समाधानका लागि सरकारको स्पष्ट धारणा माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उद्योग सञ्चालनका लागि केवल मौखिक प्रतिबद्धताले पुग्दैन, पर्याप्त बजेट र स्पष्ट कार्ययोजना आवश्यक हुन्छ ।’
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा व्याप्त विद्युतीय समस्याबारे बोल्दै सांसद दुर्गा गुरुङले न्युन भोल्टेज र अनियमित विद्युत आपूर्तिका कारण नागरिकले सास्ती खेप्नुपरेको बताउनु भयो ।
विशेषगरी रातिको समयमा हुने अन्धकारले विद्यार्थी र व्यवसायीलाई प्रत्यक्ष असर पारेको भन्दै उहाँले तत्काल सुधारका लागि माग गर्नुभयो । सांसद नरबहादुर विष्टले कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन हावाहुरीका कारण अवरुद्ध भएको र आरक्ष क्षेत्रमा पर्ने भएकाले मर्मत कार्यमा बाधा पुगेको जानकारी गराउनु भयो ।
उहाँले उक्त समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै संसद्मा उठाइएका प्रश्नहरूको जवाफ नदिने मन्त्रीहरूको कार्यशैलीप्रति आपत्ति जनाउनु भयो । सांसद भुवनबहादुर सुनारले जातीय छुवाछुत र भेदभावका घटना अझै कायमै रहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
दीपा नेपालीको आन्दोलन र माईतीघर मण्डलामा भइरहेको विद्रोहलाई उद्धृत गर्दै उहाँले सरकारले दलित समुदायलाई न्याय दिन नसकेको आरोप लगाउनु भयो । बजेटमा विभेद अन्त्य गर्ने कुनै ठोस कार्यक्रम नभएको भन्दै उहाँले शिघ्र न्यायको माग गर्नुभयो ।
सांसद युवराज शर्माले मुलुकमा बढ्दो महँगी र लोकतान्त्रिक मूल्यमान्यतामाथि भइरहेको प्रहारबारे चर्चा गर्नुभयो । संविधान संशोधनका नाममा भइरहेका केही गतिविधिप्रति संशय व्यक्त गर्दै उहाँले सुशासन र सम्पत्ति शुद्धीकरणका नाममा ‘आतंक’ सिर्जना गर्न खोजिएको टिप्पणी गर्नुभयो ।
साथै, जेन–जी आन्दोलनका सम्बन्धमा मानव अधिकार आयोगले बुझाएको प्रतिवेदनमा उच्च पदस्थहरूलाई जोगाउन खोजिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । बैठकमा सांसदहरूले जननिर्वाचित प्रतिनिधिहरूले संसदमा उठाएका प्रश्नहरूको जवाफ दिन र समस्या समाधानमा सक्रिय हुन सरकार र सदनका अध्यक्षसँग विशेष आग्रह गरेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
