मंगलवार , जेठ १२, २०८३
काठमाडौं, १२ जेठ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसदमा विधेयक पारित गर्ने प्रक्रियामाथि प्रश्न उठाउनुभएको छ ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा उहाँले केही समयअघि विपक्षी दलको अवरोधकै बीच वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक पारित भएको घोषणा गरिएको भन्दै असन्तुष्टि जनाउनुभएको हो । संसदमा विचार–विमर्श, तर्क–वितर्क र व्यापक छलफलपछि मात्रै दीर्घकालीन महत्वका विधेयक पारित हुनुपर्ने उहाँको भनाई छ ।
विधेयक पारित गर्न सत्तापक्षका सांसदले समेत आफ्नो योगदान दिन नपाएको उहाँले बताउनु भयो । सरकारसँग बहुमत भएकै आधारमा सबै विधेयक जस्ताको त्यस्तै पारित गर्ने प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक रहेको बताउनु भयो । यदि सरकारले ल्याएको प्रस्ताव बहुमतकै भरमा पास गर्ने हो भने सांसदहरू संसदमा किन बस्ने ? उहाँको प्रश्न छ ।
सरकारले ल्याएका विधेयकलाई सभामुखले प्रमाणित गरेर राष्ट्रपति कहाँ पठाइदिए हुने उहाँको भनाई छ । उहाँले संसद नियमावलीका अन्य प्रावधान पालना नगर्दा विधेयक पारित गर्ने प्रक्रियामा मात्रै नियमको औपचारिकता देखाइएको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘केही समयअघि संसदमा विपक्षीका अवरोधको बीचमा वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक पारित भएको घोषणा गरियो । विधेयकहरु पारित गर्नलाई सत्तापक्षका माननीयले समेत आफ्नो योगदान गर्न पाउनुभएन । संसदमा विचार मन्थन भएर, तर्कवितर्क गरेर दुरगामी र गम्भिर महत्व राख्ने विद्येयकहरु पारित गर्नुपर्ने हुन्छ ।
सरकारले जे ल्यायो, बहुमत छदैछ भन्ने नाममा सबै कुरा पारित गर्ने हो भने हामी भत्ता खाएर यो संसदमा किन बस्नुप¥यो ? बहुमत त छदैछ, सरकारले ल्याएपछि सभामुखले प्रमाणिकरण गरेर राष्ट्रपति कहाँ पठाईदिए भईहाल्छ । यो सबै प्रक्रिया किन पालना गर्नुप¥यो त ? यही नियमावलीमा लेखेका अन्य कुरा पालना गर्न नपर्दा विधेयक पासको लागी मात्रै यी प्रक्रियाहरु किन पालन गर्नुप¥यो ?’
उहाँले लोकतन्त्रमा बहुमत भन्ने विषय वास्तविक बहुमत नहुने बताउनुभयो । उहाँले वर्तमान सरकारलाई समर्थन नगर्ने जनताको आधा हिस्सा रहेको पनि ख्याल राख्न पनि सुझाव दिनुभयो
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
