सोमवार , जेठ ११, २०८३
लुम्बिनी, ११ जेठ । बौद्ध संस्कृति तथा पुरातत्वको लागि महत्वपूर्ण चिनियाँ ग्रन्थ फु गो ची नेपाली भाषामा अनुवाद गरिएको छ । बौद्ध चिनियाँ तीर्थयात्री भिक्षु फासियानले १६ सय वर्षअघि बौद्ध राज्यहरुको भ्रमण गरी त्यसको यात्रा विवरण लेख्नुभएको छ । बौद्ध पुरातत्वको क्षेत्रमा यो महत्वपूर्ण ग्रन्थ दुर्लभ मानिन्छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रले बेइजिङ लोङमिङह नेटवर्क कम्पनी, चीनको सहकार्यमा पुस्तक नेपालीमा अनुवाद गरेको हो । विश्वविद्यालयका सह–प्राध्यापक डा. सागर न्यौपाने र सहायक निर्देशक चुरामणि पोखरेलले अनुवाद गर्नुभएको बौद्ध राज्यहरुको अभिलेख नामक पुस्तक सोमबार लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ ।
तीर्थयात्री फासियानको यात्रा विवरण लेखिएको अभिलेखकै आधारमा बुद्ध जन्मस्थल लुम्बिनी, शाक्यहरुको राजधानी तिलौराकोट, अस्तुधातु राखिएको स्थान रामग्रामका साथै भारतमा रहेका बौद्ध स्थलहरुको पुरातात्विक पहिचान भएको छ । अभिलेख फ्रेन्च, अंग्रेजी र हिन्दी भाषामा अनुवाद गरिएको थियो । चिनियाँ लिपिबाट पहिलोपटक नेपालीमा अनुवाद गरिएको अनुवादक न्यौपानेले जानकारी दिनुभयो । ‘हामीले चीनको सिन, चिन, मिङ र छिङ वंशकालमा प्रकाशित चिनियाँ लिपिकै आधारमा अनुवाद गरेका छौं, ’उहाँले भन्नुभयो ।
पुस्तक विमोचन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. माणिकरत्न शाक्यले बौद्ध इतिहासमा फासियान र ह्वेनसाङ्गको दस्तावेजसहितको यात्राविवरण महत्वपूर्ण रहेको बताउनुभयो । बौद्ध राज्यहरुको अभिलेख पुस्तकले अध्ययन अनुसन्धानमा संलग्न नेपाली अनुसन्धानकर्ताहरुलाई सहज हुने उहाँले बताउनुभयो । फासियानले पुस्तकमा तत्कालिन बौद्ध राज्यहरुको साँस्कृतिक तथा आर्थिक अवस्थाका साथै बौद्ध स्थलहरुको विषयमा परिचर्चा गरेकाले नेपाली भाषामा अनुवाद हुनु महत्वपूर्ण कार्य रहेको उहाँले बताउनुभयो ।
सिल्करोड साँस्कृतिक कार्य कमिटी एवं चीन संस्कृति प्रवद्र्धन सोसाइटीका निर्देशक साङ्ची चसीले फासियानको पुस्तकले शब्दहरू मात्र होइन, सभ्यताको सम्झना र मित्रताको निरन्तरता पनि बोकेको बताउनुभयो । सियानदेखि जुआनजाङसम्म, प्राचीन सिल्क रोडदेखि आजको बेल्ट एण्ड रोड इनिसिएटिभसम्म, चीन र नेपालले साँस्कृतिक आदानप्रदानमार्फत सधैं एक–अर्कालाई उज्यालो पारेको भन्दै उहाँले लङमिङ्गह नेटवर्क टेक्नोलोजी कम्पनी लिमिटेडले यस अनुवादको प्रकाशनलाई सुरुवात बिन्दुको रूपमा प्रयोग गरेकोमा धन्यवाद दिनुभयो ।
त्यस्तै लङमिङ्गह नेटवर्क कम्पनीका निर्देशक जुयुले लुम्बिनी बौद्ध विश्वविद्यालयसँग थप चिनियाँ र नेपाली साँस्कृतिक क्लासिकहरूको पारस्परिक अनुवाद र प्रसारलाई प्रवद्र्धन गर्न काम जारी राख्ने आशा राख्नुभयो ।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार इन्द्रप्रसाद काफ्लेले बौद्ध संस्कृतिको पहिचान, अध्ययन अनुसन्धानमा यो पुस्तक महत्वपूर्ण हुने बताउनुभयो । विश्वविद्यालयले निरन्तर रुपमा यस्ता महत्वपूर्ण ग्रन्थहरुको अनुवाद गर्दै जाने उहाँले बताउनुभयो ।
लुम्बिनी अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा. गितु गिरीले फासियानको यात्रा विवरण बौद्ध इतिहासकै महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । अनुसन्धान केन्द्रले यस्ता थुप्रै प्राचिन ग्रन्थहरु अनुवाद गर्ने काम जारी राखेको उहाँले बताउनुभयो ।
सोही अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा ४० लाख रकमको फासियान तथा ह्वेनसाङ अनुसन्धान कोष स्थापना गरिएको छ । चिनियाँ दाताहरुको सहयोगमा यो कोष स्थापना गरिएको हो । सो कोषको रकम विश्वविद्यालयको योजनाअनुसार अनुसन्धान कार्यमा खर्च गरिनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
