२०८३, भाद्र ७ गते

Aug 23 2026 | २०८३, भाद्र ७ गते

कानूनका विद्यार्थीले कहाँ गएर इन्टर्नसिप दिने ? : सांसद खनाल

सोमवार , जेठ ११, २०८३

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, ११ जेठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले कानूनका विद्यार्थीका लागि इन्टर्नसिपको व्यवस्था मिलाउने गरी कानूनी प्रवन्ध गर्न सरकारसँग माग गर्नुभएको छ । 

    सोमवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले कानूनका विद्यार्थीलाई इन्टर्नसिपका लागि ठूलो समस्या भएको उल्लेख गर्दै सो समस्या समाधान हुनेगरी कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो । सांसद खनालले सरकारी निकायसँग जोडेर सरकारले उनीहरुलाई इन्टर्नसिपलाई व्यवस्थित बनाउन सक्ने धारणा समेत राख्नुभयो ।

    उहाँले कानूनका विद्यार्थीले ल फर्ममा गएर इन्टर्नसिप दिँदा पारिश्रमिक र सम्मान दुवै नपाउने कठिनाई भएकाले पनि उनीहरुका लागि  सो को उचित व्यवस्था गर्न सरकारले ढिलाई गर्न नहुने जिकिर गर्नुभयो । सांसद खनालले कानूनी क्षेत्रको अनुसन्धानका लागि सरकारले विशेष कोषको व्यवस्था गर्नुपर्नेमा पनि जोड दिनुभयो ।  

    उहाँले भन्नुभयो,‘हामी कहाँ कानूनका विद्यार्थीहरुले इन्टर्नसिपका लागि कहाँ जाने, के गर्ने ? भन्नेमा निकै समस्या छ । कुनै ल फर्ममा गएर काम गरौ भने त्यहाँ मेहनत अनुसार पारिश्रमिक हुँदैन । सम्मान पनि हुँदैन । हामीसँग सिंहदरवार भित्रै धेरै मन्त्रालयहरु छन । धेरै विभागहरु छन । हरेक कानूनका विद्यार्थीहरुलाई हामीले सरकारी निकायसँग जोडन सक्छौ ।

    यसो गर्न सकियो भने उनीहरुलाई इन्टर्नसिपका लागि समस्या पर्छ जस्तो मलाई लाग्दैन । यसमा मन्त्रालयले ध्यान दिए कानूनका विद्यार्थीहरुलाई राहत हुने थियो । यस क्षेत्रको अनुसन्धानमा पनि कानून मन्त्रालय फण्डको व्यवस्था गरिदिए हुने थियो ।’

    सांसद खनालले कानूनका जनशक्तिको आवश्यकताअनुसार मात्रै कलेजहरु संचालन गर्नका लागि अनुमति दिन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले अधिवक्ताको लाईसेन्स दिनका लागि तय गरिएको परीक्षा प्रणालीमा सुधार गर्न पनि आवश्यक रहेको बताउनु भयो ।