सोमवार , जेठ ११, २०८३
काठमाडौं, ११ जेठ । टर्कीको एक पुनरावेदन अदालतले मुख्य विपक्षी दल ‘रिपब्लिकन पिपुल्स पार्टी’ (सीएचपी) का अध्यक्षलाई पदमुक्त गर्ने निर्णय गरेपछि राजधानी अंकारा र इस्तानबुलमा आइतबार हजारौँ नागरिकले विरोध प्रदर्शन गरेका छन् ।
प्रहरीले अंकारास्थित सीएचपीको मुख्यालयमा छापा मारेको थियो । सो क्रममा प्रहरीले पार्टी अधिकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो । प्रहरीले पार्टी अध्यक्ष ओजगुर ओजेललाई समेत भवनबाट बाहिर निकालेको थियो ।
भवनबाट बाहिरिएपछि ओजेल हजारौँ समर्थकका साथ टर्कीको संसद भवनतर्फ अघि बढ्नुभएको थियो । संसद नजिकैको एक पार्कमा जम्मा भएको भिडलाई सम्बोधन गर्दै उहाँले अदालतको फैसला आफूहरूलाई मान्य नहुने घोषणा गर्नुभयो ।
यसैगरी, इस्तानबुलका तीन मुख्य स्थानहरूमा पनि एकैसाथ प्रदर्शनहरू भएका छन् । उक्त प्रदर्शनमा विभिन्न मजदुर संगठन, व्यावसायिक संस्थाहरू र अन्य राजनीतिक दलका प्रतिनिधिहरूले समेत सहभागिता जनाएका थिए। प्रदर्शनकारीहरूले आफूहरू जनताको इच्छा, लोकतन्त्र र देशको भविष्य रक्षाका लागि सडकमा उत्रिएको बताएका छन् ।
गत बिहीवार पुनरावेदन अदालतले सन् २०२३ मा भएको पार्टीको महाधिवेशनमा प्रक्रियागत अनियमितता भएको भन्दै ओजेलको अध्यक्ष पदको चयनलाई बदर गर्ने फैसला सुनाएको थियो । अदालतले ओजेलको सट्टा उनका पूर्ववर्ती केमाल किलिचदारोग्लुलाई अन्तरिम नेताको रूपमा नियुक्त गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
