२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

बुटवल–८ मा पूर्वाधार निर्माणदेखि सामाजिक विकाससम्म प्रगति भएको दावी

आइतवार , जेठ १०, २०८३

  • 157
    Shares
  • 157
    Shares
  • बुटवल, १० जेठ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले पछिल्लो चार वर्षको अवधिमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी तथा सामाजिक विकासका क्षेत्रमा उल्लेखनीय काम गरेको दावी गरेको छ ।

    शनिबार एक कार्यक्रमको आयोजना गरी वडा कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार विकास निर्माणसँगै सुशासन र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास गरिएको दावी गरिएको हो । बुटवलको सुख्खानगर भनेर चिनिने यो वडाको मुख्य समस्याका रुपमा रहेको खानेपानी समस्या समाधानका लागि उल्लेखनीय प्रयास भएको वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनीले दावी गर्नुभयो ।

    प्रगति विवरण सार्वजनिक तथा सम्मान समारोहमा वडा कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार वडा कार्यालयको भवन निर्माण, जे.बी.हरित पार्क निर्माण, खुला व्यायामशाला सञ्चालन तथा विभिन्न सडकको स्तरोन्नतिसहित दर्जनौं सडकको पीच र मर्मतको काम सम्पन्न गरिएको छ । 

    त्यस्तै जनता माध्यमिक विद्यालयमा ब्लक टायल बिछ्याउने, मिलनचोक क्षेत्रमा संरचना निर्माण तथा सडक बोर्डमार्फत सडक मर्मत कार्यसमेत गरिएको वडाले जनाएको छ । वि.सं. २०७९ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आउनुभएका अध्यक्ष लगायत सदस्यहरुले वडाको समग्र विकासमा दिनरात नभनी खटेर योगदान पुर्याएको दावी गरिएको छ। 

    विद्युत् व्यवस्थापनतर्फ नाङ्ग तार हटाएर लेमिनेटेड तार जडान गरिएको, विद्युतीकरण स्तरोन्नतिका लागि १३ थान ट्रान्सफर्मर थपिएको तथा विभिन्न स्थानमा नयाँ पोल र ३ वटा मुख्य चोकमा हाइमास्ट बत्ती जडान गरिएको उल्लेख छ । प्रगति विवरणमा खानेपानी क्षेत्रमा विभिन्न टोलमा पाइप विस्तार तथा मुहान खानेपानी आयोजनामार्फत पानी आपूर्ति सुधार गरिएको जानकारी दिइएको छ ।

    स्वास्थ्य क्षेत्रमा स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकामार्फत घरदैलोमै पुगेर सेवा र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षा क्षेत्रमा विद्यालयलाई नगरस्तरीय बजेट विनियोजन, विद्यार्थी प्रोत्साहन तथा व्यवस्थापन सुधारका कार्यक्रम सञ्चालन गरिएको वडाले जनाएको छ । 

    त्यसै गरी महिला समूह, आमा समूह, जेष्ठ नागरिक मञ्च, बाल क्लब तथा विभिन्न सीपमूलक तालिममार्फत सामाजिक विकासका कार्यक्रम अघि बढाइएको छ । खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै क्लब तथा विद्यालयलाई बजेट विनियोजन गरिएको जनाइएको छ । वडाकप प्रतियोगिताहरु पनि सञ्चालन गरिएको वडाअध्यक्ष यज्ञप्रसाद पंगेनीले बताउनुभयो ।

    वडाले आर्थिक वर्ष २०८२/०८३ सम्म ३ करोड १६ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको तथा १ हजार ३ सयभन्दा बढी नागरिकलाई नागरिकता सिफारिस गरिएको जनाएको छ । फ्री वाईफाई सेवा, निःशुल्क खानेपानी धारा तथा सडक सौन्दर्यीकरणका कामलाई पनि प्राथमिकतामा राखिएको वडाको भनाइ छ । वडाध्यक्ष पंगेनीले सीमित स्रोत–साधनकाबीच नागरिकको आवश्यकताअनुसार विकास निर्माण र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिएको बताउनुभयो । 

    उहाँले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रलाई सन्तुलित रूपमा अघि बढाइएको उल्लेख गर्दै आगामी दिनमा थप योजनाबद्ध ढंगले काम गरिने बताउनुभयो ।

    त्यस्तै वडा सचिव सुन्दरी आचार्यले सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउने प्रयास गरिएको बताउनुभयो। उहाँले वडाले प्रशासनिक सेवा मात्रै नभइ सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत प्रभावकारी रूपमा अघि बढाएको उल्लेख गर्नुभयो ।

    पूर्व वडाध्यक्ष भिमबहादुर श्रेष्ठले वडाको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । दलको राजनीति भन्दा माथि जनताको सेवा भएको उल्लेख गर्दै उहाँले जुनसुकै दलबाट आएको भए पनि वडा समितिले सहमती सहकार्य र एकता कायम राखेको भन्दै प्रशंसा गर्नुभयो ।

    सो अवसरमा वडाको समग्र विकासमा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।

    0b755180-8d43-475b-9c90-e3167e7e78d9.jpg

    उत्कृष्ट कार्य गर्ने टोल समितिहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, आमा समूहहरु, विद्यालयहरु, क्लबहरु, कर्मचारी तथा पूर्व कर्मचारी, पुर्व जनप्रतिनिधि लगायतलाई पुरस्कृत तथा सम्मान गरिएका वडा कार्यालयले जनाएको छ ।