२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा

शनिवार , जेठ ९, २०८३

  • 169
    Shares
  • 169
    Shares
  • भैरहवा, ९ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गर्नुभएको छ । भैरहवामा सम्पन्न ‘भैरहवा सहर : उद्योग, पर्यटन र व्यापार’ नामक प्रथम भैरहवा बहसपछि साझा प्रतिबद्धता जारी गर्दै नगरप्रमुख खानले यस्तो घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो–’भैरहवालाई नेपालको नमूना पर्यटकीय सहर घोषणा गर्न नगरको नीति तथा कार्यक्रमबाटै पहल गर्नेछौं ।’

    बहसमा सहभागी पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठले स्थल र हवाईमार्गको प्रायाप्त पहुुँच भएको भैरहवालाई पर्यटकीय हबको रुपमा घोषणा गर्न नगर सरकारले ढिला गर्न नहुुने बताउनुभयो । होटल एशोसियन अफ नेपाल (हान) का केन्द्रिय सदस्य तथा सिद्धार्थ होटल एशोसियन (सान) का अध्यक्ष समेत रहनुभएका श्रेष्ठले भन्नुभयो–‘संघ र प्रदेश सरकारले के गर्छन थाहा छैन । तर, नगर सरकारले आगामी बजेटको नीति तथा कार्यक्रम बनाउँदा भैरहवालाई पर्यटकीय सहरको रुपमा विकास गर्न ढिलाइ गर्नुहुँदैन ।’

    स्थलमार्ग हुदै सबैभन्दा धेरै तेस्रो देशका पर्यटक भित्रिने नाका बेलहिया भैरहवामै पर्दछ । बेलहिया र भैरहवाबाट नेपालभरी स्थलमार्ग हुुदै सिधा बस सेवा सञ्चालित छन । सिद्धार्थ यातायात र पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को तर्फबाट सन्चालित सयौं बसहरुले दिवा र रात्रीकालिन सेवा दिइरहेका छन् । पर्यटनमैत्री लक्जरीयस बसहरुको अतिरिक्त भैरहवा क्षेत्रमा रहेका प्रयाप्त संख्याका तारे तथा पर्यटनमैत्री होटलहरुमा दैनिक हजारौको संख्यामा राख्न सकिन्छ । क्यासिनो, स्पा, क्लबहरु साथै पर्यटनमैत्री रेष्टुरेण्टहरु रहेको भैरहवास्थित गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले देशका विभिन्न स्थानमा आन्तरिक उडान गराउनतर्फ पनि नगर सरकारले पहल गर्नुुपर्ने बहसमा सहभागीहरुले बताएका छन् ।

    भैरहवा बहसका अर्का प्यानालिस्ट नेपाल निर्माण व्यवसायी महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष टोप बहादुर रायमाझीले भैरहवा सहरलाई सुुन्दर र पर्यटकीय सहरको रुपमा विकास गर्न सम्पुर्ण निर्माण ब्यवसायीले साथ दिने बताउनुभयो । उहाँले भन्नुभयो–‘आजका दिनमा पनि हामी निर्माण व्यवसायीहरुले काम गरेको अरबौं रकम सरकारबाट भुुक्तानी पाएका छैनौ । तर, पनि भैरहवालाई सुुन्दर र पर्यटनमैत्री बनाउन हामी पूर्ण रुपमा सहयोग गर्छौं ।’

    उक्त कार्यक्रममा चेम्बर र अफ कमर्स लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिम बहादुर खत्रीले भैरहवाको व्यापार पर्यटनमैत्री रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘भैरहवाका सम्पुर्ण उद्योगी–व्यवसायीले पर्यटनमैत्री कार्य गरिरहेका छन् । नगर सरकारले अलिकति ध्यान दियो भने भैरहवा नेपालकै नमूना पर्यटकीय सहर बन्न कसैले रोक्दैन ।’

    उक्त कार्यक्रममा महिला उद्यमी सलुुजा रामदामले भैरहवा सहरलाई महिलामैत्री सहरको रुपमा विकास गर्दै अगाडी बढेमा यहाँको पर्यटन र उद्यमशीलता थप फस्टाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिद्धार्थनगर नगरपालिकाले महिला उद्यमीहरुको प्रोत्साहनको लागि विशेष कार्यक्रम ल्याउनुुपर्दछ । हामी हर तरहले यहाँको पर्यटन प्रबद्र्धनमा अग्रसर भइ सहयोग गर्न तयार छौं । ’

    समता टेलिभिजन नेटवर्क, लुम्बिनीखबर पत्रिका र नेपाल वर्ड डटकमको संयुक्त आयोजनामा भैरहवामा सम्पन्न कार्यक्रमको सहजीकरण गर्दै अग्रज पत्रकार विजय पाण्डेले भैरहवाको समृद्धिको लागि पर्यटकीय सहरको रुपमा नगरलाई विकास गर्नुुपर्ने बताउनुभयो । 

    उक्त कार्यक्रममा सहभागीकोतर्फबाट नागरिक समाज रुपन्देहीका अध्यक्ष आनन्द प्रसाद गुुप्ता, बीएमजी भैरहवाका अध्यक्ष तथा वरिष्ठ साहित्यकारद्वय विजय सागर र रुद्र ज्ञवाली, सिद्धार्थनगरका पूर्व उपप्रमुख बुुँद राना, सामाजिक अभियन्ता इशा खड्का लगायतले बोल्दै भैरहवा सहरलाई पर्यटकीय सहरको रुपमा घोषणा गर्न सुुझाव दिनुभएको थियो । 

    उद्योग, पर्यटन र व्यापारलाई केन्द्रमा राखेर प्रथम भैरहवा बहस आयोजना गरेको समता टेलिभिजन नेटवर्क, लुम्बिनीखबर पत्रिका र नेपाल वर्ड डटकमको ग्रुपका अध्यक्ष श्री रायमाझीले आगामी दिनमा भैरहवा बहसलाई विभिन्न विषयमा केन्द्रित गराइ निरन्तर कार्यक्रम गरिरहने प्रतिबद्धता गर्नुभयो ।