शनिवार , जेठ ९, २०८३
भैरहवा, ९ जेठ । रुपन्देही प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टर र कम्प्युटरसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय र एकजना नेपाली नागरिक रहेका छन् ।
भारतको ककरहवा सिद्धार्थनगर नौगढ उत्तर प्रदेशका ३८ वर्षिय अव्दुल हमिद र रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–११ मसिनाका २२ वर्षिय बिक्की भन्ने अनिल पासीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिकाको इलाकामा नक्कली नोटको कारोबार हुने गरेको छ भन्ने प्रहरीलाई गोप्य सूचना प्राप्त भएको थियो । उक्त सूचनाका आधारमा प्रारम्भिक अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न व्यक्तिहरुको पहिचान एवं खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले बिहीबार दुईजनालाई पक्राउ गरेको डीएसपी चन्दले जानकारी दिनुभयो ।
नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैची तथा प्रिन्ट हुन बाँकी, प्रिन्ट गरिएका अवस्थामा रहेका नक्कली नोट समेतका सामानसहित दुईजनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो । सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
