२०८३, जेठ ८ गते

May 22 2026 | २०८३, जेठ ८ गते

लुम्बिनी प्रदेश सभामा आज विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै

शुक्रवार , जेठ ८, २०८३

  • 196
    Shares
  • 196
    Shares
  • दाङ, ८ जेठ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत शुक्रबार (आज) दिउँसो २ बजे बस्ने तेस्रो बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’ माथि छलफल हुने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले सिद्धान्त र प्राथमिकतामाथि आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।

    आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले हिजो बसेको प्रदेश सभाको दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । उत्पादन, रोजगारी, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर बजेट निर्माण गर्ने तयारी थालिएको छ ।

    सीमित स्रोत र बढ्दो दायित्वका बीच यथार्थपरक, कार्यान्वयनयोग्य तथा परिणाममुखी बजेट ल्याउन थालिएको हो । चालु खर्च नियन्त्रण, पूँजीगत खर्चको प्रभावकारिता वृद्धि, सार्वजनिक खर्चमा मितव्ययिता तथा वित्तीय अनुशासनलाई प्राथमिकतामा राखिएको जानकारी गराइएको छ ।

    कृषि, उद्योग, पर्यटन, उर्जा र पूर्वाधार क्षेत्रमार्फत उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाइने, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा सहयोग पुग्ने क्षेत्रलाई विशेष प्राथमिकता दिइने, युवा लक्षित सीप विकास, स्टार्टअप, स्वरोजगार तथा नवप्रवर्तनमा आधारित कार्यक्रममार्फत प्रदेशभित्रै रोजगारी सिर्जना गर्ने नीति लिइएको जनाइएको छ ।

    त्यसै गरी डिजिटल शासन प्रणाली विस्तार गर्दै सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी र नागरिकमैत्री बनाइने तथा राजस्व प्रशासन, सार्वजनिक खरीद, लेखा व्यवस्थापन र सेवा प्रवाहमा डिजिटल प्रणालीको प्रयोग बढाइने मन्त्री कार्कीले सदनमा जानकारी दिनुभएको थियो ।