शुक्रवार , जेठ ८, २०८३
भैरहवा, ८ जेठ । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जिल्ला समिति रुपन्देहीको बैठक भैरहवामा सम्पन्न भएको छ। मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण सम्बन्धी कार्य गर्न माइती नेपालसँगको समन्वयमा बैठक बसेको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकले मानव बेचबिखन तथा ओासार पसार नियन्त्रण ऐन २०६४ को दफा २३ बमोजिम जिल्ला समितिको बैठकले निर्णय गरेको हो ।
बैठकले मानव बेचबिखन तथा लैगिक हिंसा, अवैध ओसारपसार नियन्त्रण गर्न गरिएका प्रयास एवं प्राप्त उपलब्धी लगायतका बिषयहरुका सम्बन्धमा छलफल र समीक्षा गरेको थियो । बैठकले लैंगिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र सोसँग सरोकार राख्ने कार्यालय, संघ–संस्था, प्रहरी र स्थानीय तहहरुलाई कार्यक्रम सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यसै गरी बैठकले सबै सुरक्षा निकायहरुले सीमा क्षेत्रमा सुरक्षा प्रबन्ध प्रभावकारी बनाई मानव बेचबिखन तथा ओसारपसार हुन सक्ने सम्भावित क्षेत्रको पहिचान गरी सुरक्षा जाँचलाई थप चुस्त बनाउने निर्णय पनि गरेको छ ।
बैठकमा माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो । बैठकमा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या, मातृका आचार्य, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक जनक बहादुर शाही, जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका जिल्ला न्यायधिवक्ता प्रकाश मरासिनी, पत्रकार शंकर पाण्डे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका निमित्त प्रमुख अनुसन्धान अधिकृत चोलानाथ खत्री लगायतको उपस्थिति थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
