२०८३, जेठ ८ गते

May 22 2026 | २०८३, जेठ ८ गते

शनिबार बुटवलमा उद्योगी–व्यवसायीका लागि एआई कार्यशाला हुँदै

शुक्रवार , जेठ ८, २०८३

  • 331
    Shares
  • 331
    Shares
  • भैरहवा, ८ जेठ । रुपन्देहीका उद्योगी–व्यवसायीलाई आधुनिक प्रविधि प्रयोगको महत्व र उनीहरुलाई  कृत्रिम बौद्धिकता (एआई) अपरिहार्यता बुझाउन शनिबार बुटवलमा पहिलोपटक एआई कार्यशाला सञ्चालन हुने भएको छ । भैरहवास्थित ‘जिनियस टक नेपाल’ ले प्रेस विज्ञप्तीमार्फत कार्यशाला आयोजना गर्न लागेको जनाएको हो । 

    ‘अहिलेको सूचना प्रविधिको युग हो । वर्तमान जीवन पद्दतिलाई प्रविधिमैत्री बनाउन नसकेको खण्डमा कुनै पनि क्षेत्रमा प्रतिष्पर्धी  बन्न सक्दैनौं,’जिनियस टक नेपालका प्रमुख कृष्ण साहले भन्नुभयो–‘पछिल्लो समय मानव जीवनमात्र नभएर कल कारखाना, उद्योग, व्यवसायलाई कृत्रिम बौद्धिकता (एआई) मैत्री बनाउन जरुरी छ । एआईलाई आत्मसात गर्न नसकेको खण्डमा व्यवसायिक रुपमा आफूलाई अब्बल बनाउन सकिने अवस्था छैन ।’ 

    मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेका उद्योगी, व्यवसायीका लागि कृत्रिम बौद्धिकता अपरिहार्य रहेकाले पहिलोपटक भारतबाट विज्ञ आमन्त्रित गरेर कार्यशाला गर्न लागिएको उहाँले बताउनुभयो ।

    जिनियस टकले लामो समयदेखि मुलुकका विभिन्न सहरमा व्यवसाय उत्थान र सहजीकरणका लागि विषयगत कार्यशाला सञ्चालन गर्दै आएको जानकारी दिएको छ । यसक्रममा अन्तर्राष्ट्रियस्तरको एआई विशेष व्यवसायिक कार्यशाला आयोजना गर्न लागेको हो । 

    उक्त कार्यशालामा अन्तर्राष्ट्रिय एआई प्रशिक्षक परितोष शर्माले प्रशिक्षण दिनुहुनेछ । कार्यशालामा व्यवसायिक तथा औद्योगिक क्षेत्रलाई आधुनिक प्रविधि र कृत्रिम बौद्धिकतासँग जोडेर व्यवसायलाई भविष्यका लागि तयार बनाउन ‘व्यवसायका लागि एआई, एआईका लागि तयार नेपाल’ शीर्षकको विशेष व्यवसाय वृद्धि सम्बन्धि प्रवचन दिइने साहले बताउनुभयो । 

    साहका अनुसार बुटवलस्थित पाँचतारे ह्यात प्यालेसमा शनिबार आयोजना हुने कार्यक्रममा नेपालका उद्योगपति, व्यवसायी, बैंकर्स, युवा उद्यमी, स्टार्टअप प्रतिनिधि तथा कर्पोरेट क्षेत्रका व्यक्तित्वको सहभागीता रहनेछ । कार्यक्रमका प्रमुख प्रशिक्षक शर्मा अन्तर्राष्ट्रिय एआई कोच, बिजनेस रणनीतिकार तथा शुन्य एआईका संस्थापक हुनुहुन्छ । प्रशिक्षक शर्मा व्यवसायिक वृद्धि, सेल्स रणनीति, नेतृत्व विकास तथा एआईमा आधारित व्यवसायिक प्रणालीका विषयमा अन्तर्राष्ट्रियस्तरमा चर्चित हुनुहुन्छ ।

    कार्यशालाका सहभागीले व्यवसायिक वृद्धिका लागि आवश्यक आधुनिक रणनीति, एआईको व्यवहारिक प्रयोग, डिजिटल परिवर्तन, नेतृत्व क्षमता तथा ब्राण्ड निर्माणसम्बन्धी प्रयोगात्मक ज्ञान प्राप्त गर्नेछन् । आयोजकका अनुसार शर्माले भारत लगायत विभिन्न मुलुकमा सञ्चालन गरेका यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी तथा सफल सावित हुनुभएको छ ।

    नेपालमा आयोजना हुन लागेको कार्यशालाले नेपाली व्यवसायिक समुदायलाई एआई प्रविधिसँग जोड्दै प्रतिष्पर्धात्मक, स्मार्ट र भविष्यउन्मुख व्यवसाय सञ्चालनतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ ।