बिहिवार , जेठ ७, २०८३
काठमाडौं, ७ जेठ । शिक्षा तथा खेलकुद मन्त्रालयले भारतमा हुने साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बिदाइ गरेको छ ।
यसै मे महिनाको २५ तारिखदेखि भारतको गोवामा साफ महिला च्याम्पियनसिप आयोजना हुँदैछ । सोही च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई मन्त्रालयले बिदाइ गरेको हो ।
युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र महेता र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्बाङले नेपाली टोलीको बिदाइ गरेका हुन् । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले नेपालका खेल संघहरू सरकारसँग नै मिलेर अगाडि बढ्ने संघ रहेको र त्यसमा एन्फा पनि प्रतिबद्धका साथै इमानदार हुने बताएका छन् । साफमा नेपाल समूह ‘ए’ मा छ ।
यस समूहमा श्रीलंका र भूटान छन् । पछिल्ला सात संस्करणसम्म यी तीनै टोली विजेता बन्न सकेका छैनन् । नेपाल भने ६ संस्करणको उपविजेता टोली हो । नेपाली टोलीले पहिलोपल्ट च्याम्पियन हुने लक्ष्य राखेका छन् । यद्यपि, नेपाली टोली दक्षिण एसियाकै स्टार स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ र सबिता रानामगर जस्ता महत्वपूर्ण खेलाडी छैनन् ।
अर्का समूह ‘बी’ मा पाँच पल्टको च्याम्पियन भारत र दुई पल्ट च्याम्पियन बंगलादेशसहित माल्दिभ्स छन् । नेपाली टोलीले करिब एक महिनादेखि सातदोबाटोस्थित एन्फा कम्लेक्समा साफको तयारी गरेको छ । मुख्य प्रशिक्षक नवीन न्यौपानेले अञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा २४ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।
तीन गोलकिपरमा अञ्जिलासँगै अञ्जना रानामगर र उषा नाथ छन् । डिफेन्समा पूजा राना, गीता राना, विमला विक, हीराकुमारी भुजेल प्रतीक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर र सबिना चौधरी छन् ।
मिडफिल्डमा रेनुका नगरकोटी, दीपा शाही, प्रीति राई, सरु लिम्बू, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल र अनिता केसी छन् । चार स्ट्राइकरमा रश्मि घिमिरे, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
