२०८३, जेठ ७ गते

May 21 2026 | २०८३, जेठ ७ गते

सीमा नाका खुला गर्न गजाका महिलाहरूको माग

बिहिवार , जेठ ७, २०८३

  • 211
    Shares
  • 211
    Shares
  • काठमाडौं,  ७ जेठ । गजापट्टीमा अड्किएका दर्जनौँ प्यालेस्टिनी महिलाहरूले विदेशमा रहेका आफ्ना पतिहरूसँग पुनर्मिलनका लागि सीमा नाकामा लगाइएको प्रतिबन्ध खुकुलो पार्न माग गर्दै प्रदर्शन गरेका छन् ।

    मध्य गजाको देइर अल–बलाहस्थित अल–अक्सा अस्पतालमा भेला भएका प्रदर्शनकारीहरूले सीमा नाका खोल, पतिसँग बस्न र शान्तिपूर्ण जीवन बिताउन पाउनु हाम्रो अधिकार हो तथा गजाका महिलाहरूको रक्षा गर जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी २८ वर्षीया गदिर अल–अहमदले आफू र आफ्ना छोराछोरी स्विडेनमा रहेका पतिसँग जान चाहेको बताइन् । 

    त्यस्तै, अर्की प्रदर्शनकारी रेहाम ताहाले युद्ध शुरु हुनुभन्दा केही हप्ताअघि मात्र बिरामी आमालाई भेट्न गजा आएको र नाका बन्द भएपछि आफू त्यहीँ फसेको बताइन् । 

    सोही क्रममा गजाको स्वास्थ्य मन्त्रालयले हजारौँ बिरामीहरू वैदेशिक उपचारका लागि अनुमति पर्खिरहेको जनाएको छ । मन्त्रालयले हाल अनुमति पाउने बिरामीको संख्या अत्यन्तै न्युन रहेको र यसले गजाको स्वास्थ्य संकटलाई थप गम्भीर बनाएको उल्लेख गरेको छ । मन्त्रालयले गम्भीर बिरामीहरूलाई सुरक्षित रूपमा विदेशका विशिष्टीकृत अस्पतालहरूमा पठाउने प्रक्रिया छिटो र सहज बनाउन सम्बन्धित निकायहरूसँग अपिल समेत गरेको छ । 

    आधिकारिक तथ्याङ्क अनुसार, गत फेब्रुअरी २ मा रफाह सीमा नाका पुनः सञ्चालनमा आएदेखि हालसम्म करिव २ हजार ८ सय यात्रीहरूले मात्र आवतजावत गरेका छन्। युद्ध शुरु हुनुअघि यस नाकाबाट दैनिक सयौँ प्यालेस्टिनीहरूले यात्रा गर्ने गर्दथे ।

    संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार, सन् २०२३ को अगस्टमा मात्रै इजरायली र इजिप्टियाली अधिकारीहरूले कुल ७८ हजार भन्दा बढी व्यक्तिलाई गजाबाट बाहिर जाने अनुमति दिएका थिए ।