बुधवार , जेठ ६, २०८३
काठमाडौं, ६ जेठ । नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले हुम्लाको चंखेली गाउँपालिकामा गएको भीषण पहिरोका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बरालले प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद बरालले हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ मा गएराति गएको पहिरोले विद्यालय, बस्ती र खेतीपातीमा ठूलो क्षति पु¥याएको जानकारी दिनुभयो ।
प्राकृतिक विपत्तिको विषयका साथै सांसद बरालले सदनभित्र सांसदहरूले प्रयोग गर्ने भाषा र व्यवहारप्रति पनि आपत्ति जनाउनु भयो । संसदको नियमावलीको नियम २१ (घ) मा उल्लेखित शिष्टताको पालना नभएको भन्दै उहाँले केही माननीय सदस्यहरूले पुराना राजनीतिक दलहरूप्रति अशिष्ट र अमानवीय व्यवहार गरिरहेको आरोप लगाउनु भयो । उहाँले विपक्षी दलका सदस्यहरूले बोलेका कुरामा सभामुखको ध्यान जाने तर सत्ता पक्षका सदस्यहरूले अमर्यादित बोल्दा बेवास्ता भइरहेको गुनासो समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘भीषण पहिरोका कारण विद्यालय र गाउँबस्तीमा ठूलो क्षति पुगेको छ, सरकारले प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो राहतको प्रवन्ध मिलाउनुपर्छ । सदनमा पुराना दलहरूले केही गरेनन् भन्दै ‘सदन गनायो’ जस्ता अमानवीय र अशिष्ट शब्दहरू प्रयोग भइरहेका छन् । यस्ता शब्दहरू तत्काल संसद्को रेकर्डबाट हटाइनुपर्छ ।’
सदनमा उपस्थित सबै २७५ जना सांसदहरू जनताको आवाज बोल्न आएका र सबैको हैसियत बराबर रहेको उल्लेख गर्दै उहाँले संसद् वादविवाद वा प्रतिष्पर्धा गर्ने थलो नभएको स्पष्ट पार्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
