२०८३, जेठ ५ गते

May 19 2026 | २०८३, जेठ ५ गते

तत्काल राहत प्याकेज ल्याउन सांसद लामाको माग

मंगलवार , जेठ ५, २०८३

  • 196
    Shares
  • 196
    Shares
  • काठमाडौं, ५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले अस्वाभाविक रूपमा बढ्दै गएको महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउनुभएको छ ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले महँगीका कारण आम नागरिकको जनजीवन कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

    बजारमा दैनिक उपभोग्य वस्तुहरू चामल, दाल र तरकारीदेखि लिएर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य आकासिएको उल्लेख गर्दै उहाँले सरकारले सुशासनको प्रत्याभुति दिन नसकेको बताउनु भयो ।

    सांसद लामाले दुई तिहाइको शक्तिशाली सरकार भएपनि जनताको पीडा सम्बोधन हुन नसकेको र सरकारको उपस्थिति नागरिकले महशुस गर्न नपाएको टिप्पणी गर्नुभयो ।

    नागरिकको आम्दानी स्थिर रहने तर खर्चको बोझ निरन्तर बढ्दै जाने अवस्थाले सामान्य मानिसलाई जीवन निर्वाह गर्न कठिन भएको उहाँको तर्क छ ।

    सांसद लामाले बजार अनुगमनलाई प्रभावकारी बनाउँदै कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेहरूलाई कठोर कारबाही गर्न माग गर्नुभयो । पेट्रोलियम पदार्थ र ग्यासमा लाग्ने करको पुनरावलोकन गरी जनतालाई प्रत्यक्ष राहत दिनुपर्नेमा उहाँले जोड दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘आज महँगीले जनताको ढाड सेकेको छ, भान्छाको अवस्था दयनीय छ,“ उहाँले भन्नुभयो, “के यही हो सरकारले दिलाउन चाहेको सुशासन? कालोबजारी रोक्न र जनतालाई आर्थिक राहत दिन सरकार किन अग्रसर छैन ?’

    कृषि उत्पादन र आपूर्ति श्रृंखलालाई सुदृढ गर्दै आयातमा रहेको निर्भरता घटाउन र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने माग उहाँले राख्नुभयो ।

    यस्तै, सार्वजनिक यातायातको मनपरी भाडा नियन्त्रण गर्न र निम्न तथा मध्यम वर्गीय परिवारलाई लक्षित गरी खाद्यान्न, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहुलियत विस्तार गर्न पनि उहाँले आग्रह गर्नुभयो ।