मंगलवार , जेठ ५, २०८३
काठमाडौं, ५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रश्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाई प्रक्रियालाई थप विलम्व नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अगाडि बढाउन माग गरेका छन् ।
मङ्गलवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू डा. लेखजंग थापा र राजीव खत्रीले सुनुवाई प्रक्रियालाई प्रभावकारी बनाउन विभिन्न सुझाव प्रस्तुत गर्नुभएको हो ।
बुर्लाकोटीले प्रश्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाई प्रक्रियालाई थप विलम्व नगरी अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । बैठकमा बोल्दै प्रमुख सचेतक बुर्लाकोटीले कार्यतालिका बमोजिम नै उजुरीकर्ताहरूसँगको छलफल र प्रश्तावित प्रधानन्यायाधीशको कार्ययोजना सुन्ने कार्यलाई तिब्रता दिनुपर्ने बताउनु भयो ।
उहाँले उजुरीकर्ताहरूलाई पालैपालो बोलाएर छलफल गर्नुपर्ने र सोही क्रममा प्रश्तावित प्रधानन्यायाधीशको कार्ययोजना समेत सुन्नुपर्ने प्रश्ताव गर्नुभयो । समितिमा प्राप्त भएका उजुरीहरूमध्ये कतिपयमा गम्भीर त्रुटिहरू रहेको उल्लेख गर्दै उहाँले ती विषयमा छलफलकै क्रममा स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।
सुनुवाईको नतिजा पहिले नै सुनिश्चित रहेको भन्ने खालका टिप्पणीहरूको खण्डन गर्दै उहाँले वस्तुनिष्ठ छलफलका आधारमा मात्र निष्कर्षमा पुग्नुपर्ने बताउनु भयो । छलफलका क्रममा गम्भीर विषयहरू देखिए सिफारिस गर्ने निकायसम्म पुगेर थप सञ्चार गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ पनि उहाँले सचेत गराउनु भयो । प्रक्रियालाई पारदर्शी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिँदै प्रमुख सचेतक बुर्लाकोटीले जहाँ बाधा पर्छ, त्यहीँ मात्र रोकिएर समस्याको समाधान खोज्न समितिलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी सबैको समय व्यस्त छ, त्यसैले समयको सदुपयोग गर्दै आजै उजुरीकर्ताहरूसँगको छलफल र कार्ययोजना सुन्ने काम अगाडि बढाऔँ । यदि आजै निर्णयमा पुग्न नसकिएमा मात्र थप समयका बारेमा सल्लाह गर्न सकिन्छ, तर प्रक्रियालाई भने नरोकाऔँ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. लेखजंग थापाले प्रश्तावित पदाधिकारीहरूको कार्ययोजना कागजमा मात्रै सिमित नभई त्यसको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । बैठकमा प्रश्तुत कार्ययोजनाको अध्ययन गर्दै सांसद थापाले मुद्दा फस्र्यौटमा तिब्रता, डिजिटलाइजेशनको प्रयोग र न्यायिक कार्यसम्पादनको गुणस्तर सुधार जस्ता पक्षहरू सकारात्मक रहेको बताउनु भयो ।
न्यायिक क्षेत्रमा गतिशीलता र संयमताको सन्तुलन आवश्यक रहेको औंल्याउँदै थापाले युवा पुस्तामा छिटो काम गर्ने हुटहुटी भएपनि निर्णय प्रक्रियामा परिपक्वता र सन्तुलन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले संसदीय सुनुवाई समितिलाई दलीय घेराभन्दा माथि उठेर एक ढिक्का भई वस्तुनिष्ठ निर्णय लिन आग्रह गर्नुभयो ।
सांसद थापाले समितिको कार्यप्रणालीमा सुधारको प्रश्ताव गर्दै आगामी दिनमा प्रश्तावित उम्मेदवारहरूको कार्ययोजना कम्तीमा एक दिन अगाडि उपलब्ध गराउन माग गर्नुभयो । कार्ययोजना अध्ययनका लागि पर्याप्त समय भएमा उम्मेदवारको योग्यता र योजनाबारे स्पष्ट धारणा बनाउन सहज हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कार्ययोजनामा उल्लेख गरिएका बुँदाहरू निकै राम्रा छन्, तर ती कत्तिको कार्यान्वयन हुन्छन् भन्नेमा संशय कायम रहन्छ । त्यसैले कार्यान्वयनको पक्षलाई हामीले गम्भीरतापूर्वक हेर्नुपर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्रीले संसदीय सुनुवाई समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउँदै द्रुत गतिमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । सांसद खत्रीले उजुरीहरूमाथिको छानबिन र सुनुवाई प्रक्रियालाई ‘फास्ट ट्रयाक’ मा लैजानुपर्ने धारणा राख्नुभयो । बैठकमा उजुरीका लागि दिइने समयसीमाका सम्बन्धमा चर्चा गर्दै सांसद खत्रीले यसअघि १० दिनको समय निर्धारण गरिएको स्मरण गराउनु भयो ।
सांसद खत्रीले उजुरीकर्ताहरूसँगको संवाद र उजुरीको अध्ययन प्रक्रियालाई सँगसँगै लैजाँदा काम छिटो र प्रभावकारी हुने तर्क गर्नुभयो । उजुरीकर्ताहरूसँग प्रत्यक्ष छलफल र प्रतिप्रश्न (क्रस कोइसन) गर्दा विषयवस्तुको गहिराइमा पुग्न सहज हुने र समयको पनि बचत हुने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘यसअघि सभापतिज्यूले ७ दिनको प्रश्ताव राख्नुभएको थियो, तर माननीयज्यूहरूको आग्रहमा हामीले १० दिन तय गरेका थियौँ। अहिले फेरि समय घटाउने विषयमा छलफल हुनु सकारात्मक छ । हामीसँग एकातिर संसद्को अधिवेशन चलिरहेको छ भने अर्कोतिर समितिको काम पनि उत्तिकै महत्वपूर्ण छ । यस्तो अवस्थामा हामीले २४ घण्टालाई ३६ घण्टा बराबरको रफ्तारमा बदलेर काम गर्नुपर्ने चुनौती छ ।’
संसदको अधिवेशन पनि जारी रहेको अवस्थामा समितिको कार्यबोझलाई मध्यनजर गर्दै उहाँले थप सक्रियताका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।
उहाँले सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूबीच कामको गतिलाई लिएर फरक–फरक दृष्टिकोण देखिए पनि मुख्य उद्देश्य कार्यलाई समयमै सम्पन्न गर्नु नै हुनुपर्ने बताउनु भयो । समितिको कामलाई छिटो र पारदर्शी ढंगले निष्कर्षमा पु¥याउन सबै सदस्यहरू एकजुट भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
