मंगलवार , बैशाख २२, २०८३
बुटवल, २२ वैशाख । नेपालमा पछिल्लो समय सवारी दुर्घटना बढिरहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । विशेष गरी पहाडी तथा दुर्गम क्षेत्रका सडकहरूमा हुने दुर्घटनाले धेरैको ज्यान जाने र घाइते हुने क्रम रोकिएको छैन । ट्राफिक नियमको उल्लंघन, तीव्र गति, सवारीसाधनको कमजोर प्राविधिक अवस्था, चालकको लापरवाही तथा सडक पूर्वाधारको कमीलाई दुर्घटनाका प्रमुख कारणका रूपमा हेरिएको छ ।
यसै सन्दर्भमा सवारी दुर्घटना र यसबाट हुने धनजनको क्षतिलाई ध्यानमा राखेर पश्चिम नेपाल बस प्रा.लि.ले सवारी दुर्घटना न्यूनीकरणका लागि निरन्तर अभियान सञ्चालन गर्दै आइरहेको छ ।
‘सुरक्षित यात्रा, हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आफ्ना चालक तथा सहचालकहरूलाई नियमित रूपमा सडक सुरक्षा सम्बन्धी तालिम प्रदान गर्दै आएको छ । साथै बेलाबेलामा स्थलगत अनुगमन गरी यात्रुहरूलाई पनि सचेत गराउने कार्यक्रमहरू पनि सञ्चालन गरिएका छन् ।
बुटवलमा आयोजित प्रशिक्षण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख तथा प्रहरी निरिक्षक प्रतिमा कार्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न प्रयासहरू गर्दै आएको बताउनुभएको छ । प्रहरी निरीक्षक कार्कीका अनुसार ट्राफिक नियम कडाइका साथ लागू गर्ने, चालकहरूलाई तालिम दिने, सवारीसाधनको नियमित चेकजाँच गर्ने, सडक स्तरोन्नति गर्ने लगायतका कार्यक्रम सञ्चालनमा छन् । साथै बेलाबेलामा ट्राफिक सप्ताह मार्फत जनचेतनामूलक अभियानहरू पनि विभिन्न स्तरमा सञ्चालन भइरहेका छन् । उहाँले भन्नुभयो–‘सर्वसाधारणलाई ट्राफिक नियम पालना गर्न प्रेरित गर्ने लक्ष्य राखिएको छ ।’
पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले नेपाल सरकार, ट्राफिक प्रहरी र स्थानीय सरकारसँगको सहकार्यमा बसहरूको प्राविधिक अवस्था नियमित रूपमा परीक्षण गर्ने, गति नियन्त्रण प्रणाली जडान गर्ने तथा लामो दूरीका यात्रामा चालक परिवर्तनको व्यवस्था मिलाउने जस्ता उपायहरू अवलम्बन गरेको जनाएको छ । यी प्रयासहरूको परिणामस्वरूप प्रा.लि. अन्तर्गत सञ्चालन हुने सवारीसाधनहरूमा दुर्घटनाको दर उल्लेखनीय रूपमा घटेको दावी गरिएको छ ।
प्रा.लि.का अध्यक्ष दधिराम खरेलका अनुसार निरन्तर प्रशिक्षणका कारण २० देखि ३० प्रतिशत दुर्घटना कम भएको छ । अध्यक्ष खरेलले भन्नुभयो–‘दुर्घटना न्यूनीकरणका लागि प्रयास मात्रै होइन, हामीले दुर्घटना पश्चात हुने क्षति न्यूनीकरण र उचित राहतको व्यवस्थापन पनि गम्भिरतापूर्वक गरिरहेका छौं ।’
दुर्घटना न्यूनीकरण कार्यक्रमका संयोजक नारायण घिमिरेले नेपालमा सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारी तथा निजी क्षेत्रबाट भइरहेका प्रयासहरूले सकारात्मक संकेत देखाएको बताउनुभयो । अझ प्रभावकारी कार्यान्वयन र जनचेतनाको आवश्यकता रहेको संयोजक घिमिरेको भनाइ छ ।
प्रा.लि.का संचालक जितेन्द्र खत्रीले सबैको साझा प्रयासबाट मात्रै दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
