बिहिवार , बैशाख १७, २०८३
बुटवल, १७ वैशाख । लेखक केशवराज ज्ञवालीको पुस्तक अज्ञातको बुधबार बुटवलमा लोकार्पण गरिएको छ । पाठक मञ्च, बुटवलले एक समारोहका विच पुस्तकको लोकर्पण गरेको हो । न्यू होराईजन माध्यमिक विद्यालयका संस्थापक प्राचार्य लोकनाथ उपाध्यायले पुस्तकको लोकार्पण गर्नुभएको हो ।
बुटवलका लेखक ज्ञवाली हाल अमेरिकाबासी हुनुहुन्छ । अज्ञात पुस्तकमा गोर्खा राज्यको विस्तारमा अनगन्ती अज्ञात मानिसको कथालाई उजागर गर्ने प्रयत्न गरिएको छ । लेखक ज्ञवालीले आफ्नै घरमा पुस्तकको लोकार्पण गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले पुस्तक पढेर आलोचना गर्न समेत आग्रह गर्नुभयो ।
लेखक अध्येता रामचन्द्र श्रेष्ठले पुस्तकको समीक्षा गर्दै पुस्तकले नेपाल राज्य र नेपाल अग्रेज युद्धलाई जोड्दै त्यहाँका अज्ञात पात्रहरुको कथालाई उतारेको बताउनुभयो । उहाँले इतिहासलाई प्रेमको आलोकबाट सामान्यजनको कथा भनिएको बताउनुभयो । साथै उहाँले लेखक ज्ञवालीको यो पुस्तककले साहित्य जगतमा बलियो हस्तक्षेप गरेको बताउनुभयो ।
त्यस्तै अर्का समीक्षक उपप्राध्यापक माया घिमिरेले पुस्तकले ओझेलमा रहेका पात्रहरुको इतिहासलाई उजागर गरेको बताउनुभयो । त्यसै गरी डा. मनोज ढुंगानाले लेखकलाई पाठक मञ्चकातर्फबाट धन्यवाद ज्ञापन गर्दै आगामी लेखनकार्यको शुभकामना दिनुभयो ।
लोकार्पण कार्यक्रममा पाठक मञ्चका सरिता श्रीस, लेखक सुमिनाले बोल्दै पुस्तकले इतिहासलाई खोतलेको बताउनुभयो । नेपालको वर्तमान भूगोल निर्माणमा आफ्नो प्राण र पसिना मिसाएका अज्ञात व्यक्तिहरुको कथालाई पुस्तकमा उतारिएको छ । लेखक ज्ञवालीको पहिलो कृति कथासंग्रह अर्को भोरले २०७८ सालको पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
