बिहिवार , बैशाख १७, २०८३
दाङ, १७ वैशाख । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन बिहीबारदेखि सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा छलफल भएको छ ।
बैठकमा प्रदेश सभा सदस्यहरूले समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् । शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्न सुझाव दिइएको छ ।
नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले नयाँ भनिएका शक्तिहरूले मुलुक निर्माण गर्न नसक्ने दावी गर्नुभयो । उहाँले पुराना राजनीतिक दलहरूले नै देश निर्माणको हैसियत राख्ने बताउनुभयो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक जमुना ढकालले नयाँ अधिवेशनले प्रदेश विकासलाई गति दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रभावकारी नीति निर्माणमार्फत विकासका कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै विगतका कमजोरी सच्याउनुपर्ने धारणा राख्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक इन्द्रजीत थारुले सुकुम्बासीहरूको मौलिक हक संघीय सरकारले खोसिरहेको आरोप लगाउँदै विरोध जनाउनुभयो । उहाँले आवासबिहीन सबै नागरिकलाई आवासको अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो । उहाँले बिना तयारी डोजर चलाइएको भन्दै भूमि प्रयोगबारे गम्भीर अध्ययन गर्न संघीय सरकारलाई आग्रह गर्नुभयो । उहाँले भूमि व्यवस्थापन ऐन प्रदेशमा छिटो ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै भूमिसम्बन्धी समस्या समाधानमा प्रदेश सरकारले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो ।
प्रदेश सभा सदस्य भण्डारीलाल अहिरले इमान्दारी र समावेशीतामा आधारित बजेट निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सभा सदस्य हेमा बेल्वासे (के.सी.) ले विगतका गल्ती नदोहोर्याइ कार्यान्वयनयोग्य बजेट ल्याउनुपर्ने बताउनुभयो । उहाँले युवालाई लक्षित डिजिटल अर्थतन्त्रका कार्यक्रम समेट्न सुझाव दिनुभयो ।
प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले लुम्बिनी विकास कोषमा थन्किएका बसहरू सञ्चालनमा ल्याउन माग राख्दै पर्यटकलाई सहज सेवा उपलब्ध गराउन ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले किसानका समस्या समाधान गर्ने गरी बजेट आउनुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठले बजेट निर्माण गर्दा वास्तविक आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्नुपर्ने बताउँदै पारदर्शी र परिणाममुखी बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । आगामी बैठकको मिति सूचनामार्फत जानकारी गराइने सभामुख तुलाराम घर्तीमगरले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
