२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता

आइतवार , बैशाख २६, २०७८

बुटवल, २६ वैशाख । 
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभाका बहुमत सदस्य ४० जनाको हस्ताक्षरसहित प्रदेशसभाका सचिवालयमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।

विपक्षी गठबन्धनका नेता एवं प्रस्तावित मुख्यमन्त्रीका प्रत्यासी पुर्वमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरुद्दीन खान, सचेतक निर्मला क्षेत्री, नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री सुदर्शन बराल लगायतको उपस्थितिमा प्रदेशसभा सचिव दुर्लभ पुन मगर समक्ष अविश्वासको प्रस्ताव पेश गरिएको छ । 

प्रतिपक्षी गठबन्धनका ४० जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराइएको नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्दीन खानले बताए । जम्मा ३८ सदस्यको समर्थन रहेको नेकपा एमालेको सरकार गठन नै अवैधानिक रहेको भन्दै आफुहरुले बहुमत सदस्यको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरेको नेता खानले बताए ।

नेकपा एमालेको अल्पमतको सरकारलाई जबरजस्ती एकल बहुमतको भन्दै गत वैशाख १९ गते आइतबार राती जालसाजी र छलकपट गरी सपथ गराइएको विपक्षी दलहरुले आरोप लगाउँदै आएका छन् । उनीहरुले अल्पमतको प्रदेश सरकार तत्काल हटाई बहुमतको नयाँ सरकार गठन गर्न माग गर्दै आएका छन् । 

प्रदेशसभामा हाल ७९ जना सदस्य छन् । बहुमतका लागि ४० सदस्य आवश्यक पर्छ । जसमा नेकपा एमालेका ३८, नेपाली काँग्रेसका १९, नेकपा माओवादीका सभामुखबाहेक १८, जसपाका २ र राष्ट्रिय जनमोर्चाका १ जना छन् ।