२०८३, बैशाख ३ गते

Apr 16 2026 | २०८३, बैशाख ३ गते

पहाडी क्षेत्रका बासिन्दाका समस्या सुन्दै सांसद् खनाल

बिहिवार , बैशाख ३, २०८३

  • 226
    Shares
  • 226
    Shares
  • पश्चिम नवलपरासी, ३ वैशाख । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नक्बर १ का निर्वाचित प्रतिनिधि सभा सदस्य विक्रम खनालले आफ्नो निर्वाचन क्षेत्रका विकट पहाडी गाउँबस्तीहरूमा पुगेर जनगुनासो सुन्ने अभियानलाई तीव्रता दिनुभएको छ। सुगम क्षेत्रभन्दा पनि दुर्गम र पिछडिएका बस्तीका नागरिकका साना–मसिना समस्यालाई नजिकबाट बुझ्न उहाँ गाउँ–गाउँ पुग्नुभएको हो ।

    यसै क्रममा बर्दघाट नगरपालिका वडा नम्बर २ को पहाडी क्षेत्रका बासिन्दासँग भेटघाट गरी त्यहाँको वास्तविक वस्तुस्थितिबारे उहाँले जानकारी लिनुभएको छ ।  

    भेटघाटका क्रममा सांसद् खनालले पहाडी क्षेत्रमा देखिएको यातायातको असहजता, गुणस्तरीय शिक्षाको अभाव र स्वास्थ्य सेवामा पहुँच जस्ता विषयमा स्थानीयसँग प्रत्यक्ष छलफल गर्नुभएको थियो । उहाँले विकट क्षेत्रका बासिन्दाले भोग्नुपरेका साना–मसिना समस्याहरू सुन्दै त्यसको समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    छलफलका क्रममा स्थानीय बासिन्दाहरूले सडक पूर्वाधारको अभाव नै आफ्नो मुख्य समस्या रहेको बताएका थिए । पहाडी क्षेत्रमा सडक सञ्जाल विस्तार भएमा यहाँ उत्पादित कृषिजन्य खाद्यान्न र तरकारीलाई बजारसम्म पुर्याउन सहज हुने र स्थानीयको आम्दानीमा वृद्धि हुने भन्दै उनीहरूले सांसद् खनालसमक्ष जोडदार माग राखेका छन् ।

    पहाडी क्षेत्रको उत्पादनले उचित बजार नपाउँदा किसानहरू मर्कामा परेको भन्दै स्थानीयले सडक विस्तारलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे । निर्वाचन क्षेत्रका हरेक कुनाकाप्चामा पुगेर जनताका पीरमर्का बुझ्ने सांसद खनालको यो सक्रियतालाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।

    दुर्गमका समस्यालाई नीतिगत तहमा पुर्याएर समाधान खोज्ने उहाँको प्रयासले पहाडी भेगका नागरिकमा आशा जगाएको छ ।