२०८३, बैशाख २ गते

Apr 15 2026 | २०८३, बैशाख २ गते

नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल

बुधवार , बैशाख २, २०८३

  • 55
    Shares
  • 55
    Shares
  • काठमाडौं, २ बैशाख । सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । 

    ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभामुख अर्यालले नेपाललाई ‘बजेट गन्तव्य’ को ट्यागबाट मुक्त गरी ‘प्रिमियम आरोग्य गन्तव्य’ को रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँकाअनुसार केवल पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव छैन ।

    बरु पर्यटकले पाउने अनुभवको गहिराइ र त्यसबाट हुने आम्दानीको गुणस्तर महत्वपूर्ण हुन्छ । सभामुख अर्यालले स्पष्ट आरोग्य पर्यटकहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्छन् र लामो समय बस्ने बताउनु भयो । उनीहरू विलासिता मात्र नभइ, आत्मिक शान्ति र जीवनको अर्थ खोज्न यात्रा गर्ने बताउनु भयो । यसका लागि नेपालका हिमालय, पवित्र नदीहरू र प्राचीन योग परम्पराहरू विश्वकै लागि अद्वितीय ‘प्रोडक्ट’ हुनसक्ने उहँँको भनाइ छ ।

    सभामुख अर्यालले विश्वभर आरोग्य पर्यटन तिब्र रूपमा विस्तार भइरहेको र यो खर्बौँ डलरको अर्थतन्त्रमा रूपान्तरण भइसकेको सन्दर्भमा नेपालसँग अपार सम्भावना रहेको औँल्याउनु भयो । पश्चिमको बडिमालिका र खप्तडदेखि कर्णालीको रारा, लुम्बिनी, मनाङ र मुस्ताङसम्मका क्षेत्रहरू आत्मिक अनुभूतिका यात्रा गर्ने गन्तव्य भएको उहाँको भनाइ छ । उहाँले प्रकृति, संस्कृति र आध्यात्मिकतालाई एकीकृत गर्दै नयाँ पर्यटन मोडेल विकास गर्नुपर्ने र यसका लागि स्पष्ट नीति, राष्ट्रिय आरोग्य मोडेल र स्थानीय समुदायको साझेदारी आवश्यक रहेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘ नेपाल सरकारको प्रश्तावमा संयुक्त राष्ट्र संघको महासभाले वैशाख २ अर्थात् अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवसको रूपमा औपचारिक मान्यता प्रदान गरेको छ । आजदेखि विश्वभरि मनाइने यस दिवसले मानव जीवनको समग्र कल्याणलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता प्रदान गरेको छ । यो केवल एक दिवसको घोषणा मात्र नभई मानव सभ्यताको दिशा बदल्ने एउटा सशक्त सन्देश हो । यो मानव जीवनलाई पुनः सन्तुलित बनाउने, प्रकृतिसँग पुनः जोड्ने र आत्मिक शान्तितर्फ फर्कने सन्देश पनि हो ।

    आरोग्यको अवधारणा केवल रोग नहुनु मात्र होइन, यो शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक र वातावरणीय सन्तुलनको समग्र अवस्था हो । जब शरीर स्वस्थ हुन्छ, मन शान्त हुन्छ, समाजसँगको सम्बन्ध सुदृढ हुन्छ, संस्कृति जीवित रहन्छ र वातावरण सुरक्षित हुन्छ, त्यसबेला मात्रै वास्तविक अर्थमा आरोग्य प्राप्त हुन्छ । आज विश्व अनेक चुनौतीहरूले घेरिएको छ ।

    कतै द्वन्द्व छ भने कतै जलवायु परिवर्तनले विकराल अवस्था सिर्जना गरेको छ । मानसिक तनाव बढ्दो छ, जीवनशैली सन्तुलित छैन र तिब्र शहरीकरणका असरहरूले मानिसको दैनिकी नै प्रभावित बनाएको छ । यस्तो अवस्थामा आरोग्यलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नु मानवताको लागि आशाको किरण हो ।

    नेपालको सभ्यता, संस्कृति र परम्परा आफैँमा आरोग्यका उत्कृष्ट उदाहरण हुन् । हजारौँ वर्षदेखि हामीले योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा र प्रकृतिसँगको सहअस्तित्वलाई जीवनको आधार बनाएका छौँ । हिमालयको काखमा अवस्थित हाम्रो मुलुक केवल भौगोलिक रूपमा मात्र होइन, आध्यात्मिक रूपमा पनि विशिष्ट छ । सगरमाथाको शिखरले हामीलाई उचाइको प्रेरणा दिन्छ, लुम्बिनीले शान्ति र करुणाको सन्देश दिन्छ, पशुपतिनाथले आध्यात्मिक ऊर्जा प्रदान गर्छ र हाम्रो गाउँबस्तीको सरल जीवनशैलीले सन्तुलित जीवन जिउन सिकाउँछ ।

    हाम्रा हिमालहरू केवल हिउँले भरिएका चट्टान मात्र होइनन्, हाम्रा हिमालहरू ध्यान, शान्ति र आत्मानुभूतिका प्रतीक हुन् । यहाँको शीतल हावा, निर्मल पानी, हरियालीले भरिएका वन, जैविक खाद्य प्रणाली र सांस्कृतिक विविधताले मानव जीवनलाई सन्तुलित बनाउने अद्वितीय वातावरण सिर्जना गर्छन् । हाम्रा गाउँमा रहेको सहकार्यको भावना, परम्परागत ज्ञान र प्रकृतिप्रतिको सम्मान यी सबै आरोग्यका जीवन्त अभ्यास हुन् ।

    आयुर्वेदले शरीर र मनको सन्तुलन सिकाउँछ, योगले आत्मा र चेतनालाई जोड्छ भने ध्यानले मनलाई शान्त बनाउँछ। हाम्रो प्रकृतिले जीवनलाई पुनर्जीवित गर्छ । आज विश्वभर आरोग्य पर्यटन तीव्र रूपमा विस्तार भइरहेको छ। यो पर्यटन उद्योग अब खर्बौँ डलरको अर्थतन्त्रमा रूपान्तरण भइसकेको छ र आगामी वर्षहरूमा अझ तिब्र रूपमा बढ्ने अनुमान गरिएको छ ।

    आरोग्य पर्यटकहरू केवल घुम्न मात्र होइन, स्वास्थ्य, शान्ति, आत्मिक अनुभव र जीवनको अर्थ खोज्न यात्रा गर्छन् । उनीहरू सामान्य पर्यटकभन्दा बढी खर्च गर्छन्, लामो समय बस्छन् र आत्माको गहिरो अनुभव खोज्छन् । यस सन्दर्भमा नेपालसँग अपार सम्भावना छ । हामीसँग प्राकृतिक सौन्दर्यसँगै सांस्कृतिक धरोहरहरू छन्, आध्यात्मिक परम्परा छ र मानवीय आतिथ्यताको अनुपम सम्पदा छ ।

    तर हाम्रो अव्यवस्थित विकास, स्पष्ट रणनीतिको अभाव, गुणस्तरको कमी र दिगोपनलाई ध्यान दिन नसक्दा हामीसँग चुनौतीका चाङ नभएका होइनन् । तर अब हामीले दिगोपनलाई आधार बनाउँदै पर्यटनलाई पुनः परिभाषित गर्नुपर्छ । केवल पर्यटकको संख्या बढाउने तिरभन्दा पनि पर्यटकलाई गुणस्तरीय अनुभव प्रदान गर्ने दिशामा अघि बढ्नुपर्छ । नेपाललाई सस्तो गन्तव्यको रूपमा होइन, उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ ।

    पश्चिमको बडिमालिका र खप्तड, कर्णालीको रारा, लुम्बिनी, मनाङ, मुस्ताङ लगायतका क्षेत्रहरू केवल घुम्ने ठाउँ मात्र होइनन्, यी आत्मिक अनुभूतिका यात्रा गर्ने गन्तव्य हुन्। कर्णाली र बबई नदीमा राफ्टिङ, इलामको अन्तुडाँडाको सूर्योदयसँगै ध्यान, जैविक खानाको अनुभव र स्थानीय जीवनशैलीको घुलमिल—यी अनुभवहरूले पर्यटकलाई केवल मनोरञ्जन मात्र होइन, मानसिक शान्ति र आत्मिक सन्तुष्टि प्रदान गर्छन् ।

    हामीले प्रकृति, संस्कृति र आध्यात्मिकतालाई एकीकृत गर्दै नयाँ पर्यटन मोडेल विकास गर्नुपर्छ । यही मोडेलले नेपाललाई विश्व बजारमा विशिष्ट बनाएको छ । हामीले छिमेकी मुलुकहरूको अनुभवबाट पनि सिक्नुपर्छ । पर्यटन प्रवद्र्धनका लागि नवीन सोच र योजना आवश्यक छ । दिगोपनमा आधारित पूर्वाधार र सांस्कृतिक सम्पदाको संरक्षण—यी सबै दीर्घकालीन रणनीतिका आधार हुन्। पर्यटनलाई केवल व्यापार होइन, राष्ट्रिय पहिचान र गौरवको विषयका रूपमा हेर्नुपर्ने समय आएको छ ।

    अब हाम्रा नीति, रणनीति, योजना र ती योजना सही कार्यान्वयनको दिशामा अघि बढ्नुपर्छ । यसका लागि हाम्रा नीतिहरू स्पष्ट हुनुपर्छ। हामीले राष्ट्रिय आरोग्य मोडेल निर्माण गर्नुपर्छ । दिगोपन र गुणस्तरमा आधारित प्रणाली लागू गर्नुपर्छ । स्थानीय समुदायलाई पर्यटन बुझाएर उनीहरूलाई पर्यटनका साझेदार बनाउनुपर्छ। मानव संसाधन विकासमा लगानी गर्दै सेवामा सुधार गर्नुपर्छ। पूर्वाधार विकासमा वातावरणीय सन्तुलनलाई ध्यान दिनुपर्छ र सबैभन्दा महत्त्वपूर्ण नीतिमा निरन्तरता र प्रतिवद्धता सुनिश्चित गर्नुपर्छ ।’ 

    नेपाल सरकारको प्रश्तावमा संयुक्त राष्ट्र संघको महासभाले वैशाख २ (अप्रिल १५) लाई आरोग्य दिवसको रुपमा मान्यता दिनु ऐतिहासिक उपलब्धि भएको बताउनु भयो । यो दिवस केवल घोषणा मात्र नभई मानव जीवनलाई पुनः सन्तुलित बनाउने, प्रकृतिसँग जोड्ने र आत्मिक शान्तितर्फ फर्कने एउटा गौरवमय क्षण भएको बताउनु भयो ।

    नेपालको सभ्यता, संस्कृति र परम्परा आफैमा आरोग्यका उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै सभामुखले हजारौँ वर्षदेखि योग, ध्यान, आयुर्वेद र प्रकृतिसँगको सह–अस्तित्वलाई नेपालीले जीवनको आधार बनाएको बताउनु भयो ।