
शनिवार , बैशाख २५, २०७८
दाङ, २५ वैशाख ।
घोराही उपमहानगरपालिका–३ झिङनीमा रहेको दाङ अक्सिजन उद्योग बन्द रहेको ६वबर्षपछि संचालनमा आएको छ । जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि अक्सिजनको अभाव हुँदै आइरहेको अवस्थामा उद्योग सञ्चालनमा आएपछि केही राहत हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपमहानगरपालिका प्रहरीको समन्वयमा अक्सिजन उद्योग सुरु भएको हो ।
६ वर्ष पहिले स्थापना गरिएको ग्यास प्लान्ट विद्युत अभावका कारण पटकपटक बन्द हुँदै आएको थियो । यसपटक भने राष्ट्रिय प्रशारण लाइनबाट विद्युत जडान गरी उद्योग सुरु गरिएको छ । करीव ४ करोड लगानीमा सञ्चालनमा आएको उद्योग पटकपटक बन्द भइ चरम मारमा परेको थियो । उक्त उद्योगबाट दैनिक १५० अक्सिजन सिलिण्डर उत्पादन हुने गरेको उद्योग संचालक टोपाराम पौडेलले बताए ।
‘हाम्रो उद्योगको क्षमता दैनिक १५० अक्सिजन सिलिण्डर भर्ने क्षमताको हो,’ उनले भने,‘ तर, हामीलाई सबै भन्दा बढी विद्युत कै समस्या हो । दिनमा कम्तिमा २० पटक बत्ती गएमा एक सय सिलिण्डर मात्र भर्न सकिन्छ । हामीलाई २४ सैं घण्टा लाइन भए जति क्षमता छ । त्यति उत्पादन गर्न सक्छाँै । तर, जिल्लामा सामान्य अवस्थामा हामी उत्पादन गरेको सिलिण्डर खपत हुँदैन्थ्यो ।’ उनका अनुसार जिल्लामा सामान्य अवस्थामा यति उत्पादन भए पनि पुग्ने गर्दथ्यो ।
तर, अहिले कोरोना महामारीका कारणले मात्र अभाव भएको हो । आफूहरुबाट उत्पादन भएको अक्सिजन सिलिण्डर जिल्लाका विभिन्न ठाउँ लगायत सल्यान, प्युठान सम्म पुर्याउने गरेको उनको भनाइ छ । सामान्य अवस्थामा महिना १ हजार जति अक्सिजन सिलिण्डर खपत हुने गरेको समेत उनले बताए । ‘हिजो आज जिल्लामा दैनिक करिब १ हजार अक्सिजन सिलिण्डरको माग भइरहेको छ, ’उनले भने करिब साढे ४ सय अपुग हुँदै आएको छ ।
अहिले उद्योगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र कोरोना विशेष अस्पताल बेलझुण्डीलाई पहिलो प्राथमिकता दिदै उत्पादन सुरु गरेको हो । जिल्लामा अक्सिजन अभाव भएका कारण घोराही उपमहानगरपालिका र प्रशासनको समन्वयमा उद्योगको लागि छुट्टै विद्युत उपलब्ध गराइ उद्योग संचालनमा ल्याएको छ । तर अहिले महामारीलाई मध्यजनर गर्दै नियमित संचालनमा सहयोग गर्ने घोराही उपमहानगरपालिकाका प्रवक्ता भरतमणी अर्यालले बताए । उद्योगलाई चाहिने खाली सिलिण्डरहरुको समेत व्यवस्था भइरहेको र अब थोरै भए पनि राहत हुने उनको भनाइ छ ।
त्यस्तै उपमहानगरपालिकाले ५० वटा अक्सिजन सिलिण्डरहरु किनेर प्रतिष्ठानलाई बिहीबार बिहान दिएको समेत उनले बताए । अहिले जिल्लामा नेपालगंजबाट अक्सिजन सिलिण्डर आइरहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij