२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

पर्यटनमैत्री नीति र वातावरण बनाउन व्यवसायीको माग

बिहिवार , चैत्र २६, २०८२

  • 256
    Shares
  • 256
    Shares
  • भैरहवा, २६ चैत । पर्यटन क्षेत्रको विकासका लागि पर्यटनमैत्री नीति र वातावरण बनाउन आवश्यक रहेकोमा व्यवसायीहरुले जोड दिएका छन् । उनीहरुले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।

    बुधबार रुपन्देहीको भैरहवामा ‘टुर प्याकेज निर्माण तालिम’ को शुभारम्भ कार्यक्रममा व्यवसायीले नीतिगत सुधार आवश्यक रहेको बताए । उनीहरुले सरकारले राम्रो नीति र वातावरण बनाए पर्यटन क्षेत्रको विकास हुने र त्यसले मुलुकलाई आर्थिक रुपमा समृद्ध बनाउने धारणा राखे ।

    नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशको आयोजना, दिगो पर्यटन परियोजना (एसटीपी), नेपाल पर्यटन बोर्ड र युएनडीपी नेपालको सहकार्यमा सुरु भएको तालिमको उद्घाटन गर्नुहुँदै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले पर्यटन क्षेत्रमा नेपालमा प्रशस्त सम्भावना भएको बताउनुभयो । उहाँले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालन भएपछि पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने भएकोले सरकारले यथाशिघ्र विमानस्थल सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

    त्यस्तै नाट्टाका केन्द्रीय कार्यकारी सदस्य विजय रिजालले पर्यटन आम्दानीको मुख्य स्रोत भएको बताउनुभयो । उहाँले यो तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

    नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले तालिमबाट पर्यटन क्षेत्रको विकासका निम्ति टूर प्याकेज सम्बन्धी समस्या सम्बोधन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । लुम्बिनीको पर्यटकीय विकासमा हातेमालो गर्दै अघि बढ्नुपर्र्नेमा उहाँले जोड दिनुभयो । ‘जीवन सिकाई हो । यहाँहरुले धेरै कुरा जान्दाजान्दै पनि जानेको कुराको एकआपसमा तालिममार्फत अनुभव आदानप्रदान हुन्छ, जसले टूर प्याकेज निर्माणमा मद्दत पुग्छ, ’थापाले भन्नुभयो ।

    नाट्टा लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष अध्यक्ष सागर अधिकारीले पर्यटन व्यवसायीमाथि टुर प्याकेज बनाउँदैनन् भन्ने आरोप रहेको बताउनुभयो । यस्तो तालिमले विभिन्न पर्यटकीय गन्तव्यका लागि प्याकेज बनाउन सहयोग गर्ने उहाँले बताउनुभयो । ‘पर्यटन विशाल क्षेत्र हो । यो तालिममा अधिकांश नयाँ पुस्ताको सहभागीता छ । पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको पनि आवश्यकता छ, ’उहाँले भन्नुभयो ।

    यो कार्यक्रमले पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुने र यसले रोजगारी पनि सिर्जना हुने उहाँको विश्वास छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण विशेष गरी पर्यटन क्षेत्रमा असर पुगेको उहाँले बताउनुभयो । सरकारले पर्यटन क्षेत्रमा ठूलो लगानी नभइ पर्यटनमैत्री नीति बनाउने अपेक्षा राखेको अधिकारीले बताउनुभयो ।

    ३० जनाको सहभागीता रहेको तालिमको सहजीकरण प्रशिक्षक (सहजकर्ता) विनय शाक्य र विजय रिजालले गर्नुभएको छ । तालिम चैत २८ गतेसम्म सञ्चालन हुनेछ ।