२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

नेतृत्व विकास तालिम सम्पन्न

बिहिवार , चैत्र २६, २०८२

  • 271
    Shares
  • 271
    Shares
  • तिलोत्तमा, २६ चैत । वडा सञ्जाल विकास संस्था, तिलोत्तमा नगरपालिका–१३, मड्हाले आदिवासी थारु तथा जनजातिहरुका लागि आयोजना गरेको  तीनदिने नेतृत्व विकास तालिम बुधबार सम्पन्न गरेको छ । 

    समापन कार्यक्रमका प्रमुख अतिथि सोही वडाका वडाध्यक्ष नारायण ढकालले  सहभागीहरुको सार्थक सहभागीताले नै कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पुनर्ताजगी तालिम र क्षमता विकासका कार्यक्रम गर्न वडाबाट सक्दो वजेट व्यवस्थापन गरिने बताउनुभयो । उहाँले आदिवासी थारु र जनजातिहरुको क्षमता विकासका लागि वडाले सशक्तिकरणका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । संविधानले व्यवस्था गरेको समावेशी र समानुपातिक प्रणालीलाई आफूहरुले कार्यक्रममार्फत् कार्यान्वयन गर्दै आएको वडाध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

    सहभागीकोतर्फबाट रत्नाकुमारी थापा, दिलमाया गुरुङ र विमला विश्वकर्माले तालिमबाट आफूहरुको नेतृत्व विकासमा सक्दो सहयोग पुगेको बताउनुभयो । उहाँहरुले सामाजिक रुपान्तरणका लागि मानवीय क्षमता अभिवृद्धि गर्ने खालका तालिम सञ्चालन भइरहनुपर्नेमा जोड दिनुभयो ।

    तालिम समापनको अवसरमा संस्थाका अध्यक्ष होमबहादुर छन्त्यालले पछाडि पारिएका आदिवासी थारु र जनजातिहरुले आफ्नो नेतृत्व विकास गर्दै नेतृत्व गर्ने स्थानमा पुग्न सधैं अघि सर्नुपर्ने बताउनुभयो ।

    तालिममा नेतृत्व विकास, बैठक सञ्चालन, माईन्यूट लेखन, उद्यमशीलता, उद्घोषण र भाषणकलासम्बन्धि विषयवस्तुहरुमा दलबहादुर गुरुङ, गीता थापा र मन थापाले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षार्थी आरती थापाको सञ्चालन र होमबहादुर छन्त्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।