बुधवार , चैत्र २५, २०८२
काठमाडौं, २५ चैत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले वैदेशिक अनुदान र ऋणको भरमा देश चलाउने प्रयास गर्न नहुने बताउनुभएको छ ।
बुधवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले देशमा आत्मनिर्भर अर्थतन्त्रको विकासमा ठोस कदम चाल्न पनि सरकारलाई सुझाव दिनुभयो । सांसद शाहीले सबै भ्रष्टाचारका काण्डहरुको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
उहाँले भू राजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर परराष्ट्र नीतिलाई अघि बढाउन पनि सरकारले ठोस कदम चाल्न आवश्यक रहेको बताउनु भयो ।
सांसद शाहीले भन्नुभयो,‘वैदेशिक अनुदान र ऋणको भरमा मात्रै देश चल्नु हुँदैन । आत्मनिर्भर अर्थतन्त्रको विकास आवश्यक छ । सरकारले यसतर्फ ठोस कदम चालोस् ।
नेपालको भूराजनीतिक संवेदनशीलतालाई सचेत रहँदै पञ्चशीलताको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिको आधारमा मात्र परराष्ट्र सम्बन्ध सरकारले गरोस् । म आग्रह गर्न चाहन्छु । र सबै भ्रष्टाचारको काण्डहरुको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही गरियोस् ।’
सांसद शाहीले सरकारले विना भेदभाव मुलुकमा सुशासन कायम गर्ने अभियानलाई तिब्रता दिनुपर्ने बताउनु भयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij