२०८२, चैत्र २५ गते

Apr 08 2026 | २०८२, चैत्र २५ गते

‘सरकारको बारेमा बोल्न पटक्कै मन छैन तर चुपचाप बस्न पनि सकिएन’ : सांसद राई

बुधवार , चैत्र २५, २०८२

  • 298
    Shares
  • 298
    Shares
  • काठमाडौं, २५ चैत । नेपाली कम्युनिष्ट पार्टीका सांसद जयन्तीदेवी राईले सरकार निरंकुश बन्दै जान लागेको आरोप लगाउनुभएको छ । 

    राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विशेष समयमा उहाँले सरकारले निजी सञ्चारमाध्यामहरुमाथी सरकारी सूचना तथा विज्ञापन रोक लगाउने निरंकुश निर्णय गरेको बताउनुभएको हो ।

    सरकारले छोटो समयमा नै धेरै विवादित निर्णयहरु गर्दै गएको उहाँको भनाई छ । उहाँले निजी सञ्चारमाध्यामहरुलाई विज्ञापनमा रोक लगाउने, विद्यार्थी संगठन खारेज गर्ने लगायतका अलोकतान्त्रिक निर्णय गरेकोले फिर्ता लिन माग गर्नुभयो । उहाँले ठुलो जनविश्वास प्राप्त गरेको सरकारको बारेमा बोल्न मन नभएपनि एकपछि अर्को विवादीत काम गरेपनि नबोली बस्न नसकेको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘भर्खरै मन्त्रीपरिषद्को सचिवालयले सचिवस्तरीयको निर्णय परिपत्र गरेको छ । त्यो परिपत्र आउँदा नआउँदै अत्यन्तै विवादको अवस्थामा आईपुगेको छ । उक्त परिपत्रमा सरकारका सुचना, विज्ञापनहरु सरकारका सञ्चारमाध्यामहरुले मात्रै गर्न पाउने र निजी सञ्चारमाध्यामहरुले गर्न नपाउने भन्ने किसिमको जुन निर्णय ग¥यो । त्यो अत्यन्तै गलत छ, त्यो अलोकतान्त्रिक छ ।

    किन आज सरकार आफ्ना निर्णयहरु विवादित गर्दै गईरहेको छ, म सोध्न चाहन्छु । यो निर्णयले सबै निजी संचारमाध्यामहरुलाई धरासायी बनाउने र प्रेस स्वतन्त्रताको हकलाई विस्तारै विस्तारै खोस्ने खालको अलोकतान्त्रिक, निरकुश निर्णय सरकारले गरेको छ । त्यो निर्णय तुरुन्त सच्याउन म माग गर्न चाहन्छु । यो अधिकार र व्यवस्था स्थापित गर्नको लागी आन्दोलनको नेतृत्व गरेर अग्रपंक्तीमा थिए ।

    हजारौँले रगत बगाएका छन्, टाउको फुटाएका छन् । सरकार कहिले विद्यार्थि संगठनहरुलाई प्रतिवन्ध गराउने निर्णय गर्छ । कहिले प्रेस संगठनहरुलाई रोक्न खोज्ने निर्णय गर्छ । आज विद्यार्थीको संगठीत हुने, बोल्ने अधिकार खोसिँदैछ । सरकारले सोच्नुप¥यो, हामीलाई मन छैन, सरकारको बारेमा बोल्न पटक्कै मन छैन, किनभने यति धेरै पपुलर सरकार, यतिधेरै जनविश्वास प्राप्त गरेको सरकार । तर आज हामीले चुपचाप बस्न पनि त सकिएन नी ।’ 

    उहाँले पछिल्लो समय महिला तथा किशोरीमाथी पनि साईवर हमला हुने गरेकोले बताउनु भयो । महिलामाथी हुने साईबर हिंसालाई रोक्न कडा कदम चाल्न उहाँले सरकारसंग माग पनि गर्नुभयो ।