२०८२, चैत्र २४ गते

Apr 07 2026 | २०८२, चैत्र २४ गते

चैत २५ देखि मुख्यमन्त्री कप प्रदेशस्तरीय भलिबल प्रतियोगिता

मंगलवार , चैत्र २४, २०८२

  • 277
    Shares
  • 277
    Shares
  • दाङ, २४ चैत । लुम्बिनी प्रदेश सरकारको आयोजनामा मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता यही चैत २५ गतेदेखि २८ गतेसम्म दाङमा सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद परिषद् लुम्बिनीले प्रतियोगिता सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

    परिषद्का सदस्य सचिव तिरनदाज गौतमले प्रतियोगिताका लागि खेल मैदान, व्यवस्थापन, आवास तथा अन्य प्राविधिक तयारी सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

    प्रतियोगितामा प्रत्येक जिल्लाबाट महिला र पुरुष टीम सहभागी हुनेछन् । प्रत्येक टीममा १० जना खेलाडी र एकजना प्रशिक्षक रहने व्यवस्था गरिएको छ । खेल अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमअनुसार सञ्चालन गरिनेछ भने लिगकम नकआउट प्रणालीमा प्रतिष्पर्धा गराइनेछ ।

    प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री चेतनारायण आचर्याले गर्ने कार्यक्रम छ । प्रतियोगिताका विजेताले नगद रु. १ लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय हुने टिमले रु. ६५ हजार, तृतीयले रु. ३५ हजार र सान्त्वनाले रु. १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई रु. १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही रु. ५ हजार नगदसहित पुरस्कार प्रदान गरिनेछ ।

    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित सञ्चालन हुने प्रतियोगिताले प्रदेशस्तरमा भलिबल खेलको विकास र खेलाडीको क्षमतामा अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । गत वर्ष पुरुषतर्फ गुल्मी र महिलातर्फ पाल्पा प्रथम भएका थिए । यसपटक पुरुष र महिलाको प्रतियोगिता एकैसाथ हुन थालेको हो । अघिल्लो बर्ष पुरुषको अर्घाखाँची सन्धिखर्कमा र महिलाको दाङको घोराहीमा भएको थियो ।