२०८२, चैत्र २४ गते

Apr 07 2026 | २०८२, चैत्र २४ गते

रूपन्देही सुपर लिग : देवदह क्रिकेट युनिट विजयी

मंगलवार , चैत्र २४, २०८२

  • 265
    Shares
  • 265
    Shares
  • भैरहवा, २४ चैत । देवदह क्रिकेट युनिट भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपरलिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको मंगलबारको खेलमा विजयी भएको छ । देवदहले सैनामैला क्रिकेट क्लबलाई ७ रनले हराउँदै जीत दर्ज गरेको हो ।

    सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको देवदहले ३३ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय २० रन बनायो । उसका लागि रोशन गौतमले ३२, कृष्ण कार्कीले २८ र सुमन पाण्डेले १२ रन बनाए । बलिङमा सैनामैनाका किरण भट्टराईले ९ ओभर ३ बल बलिङ गर्दै २७ रन खर्चेर ६ विकेट हात पारे । त्यस्तै योभ यादव, सुनिल पौडेल र निश्चल क्षेत्रीले १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको सैनामैनाले ३२ ओभरमा अलआउट हुँदै १ सय १३ रन मात्रै बनायो र झिनो रनअन्तरले पराजित भयो । उसका लागि सुनिल पौडेलले ३१, सुशान्त क्षेत्रीले २३, किरण भट्टराईले १८ र निश्चल क्षेत्रीले ११ रन बनाए । बलिङमा देवदहका रोशन गौतमले ७ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर ५ विकेट हात पारे । त्यस्तै कृष्ण पराजुलीले ३ तथा शशिधर टण्डन र विष्णु कटरियाले १–१ विकेट लिए । खेलमा रोशन गौतम प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । 

    त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसै गरी प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रायोजन गरेका छन् ।

    त्यस्तै म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रवि कुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित कुमार गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागीता छ ।