मंगलवार , चैत्र २४, २०८२
रुपन्देही, २४ चैत । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर तीनजनासहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।
लागूऔषध ओसारपसारमा सक्रिय रहेको सूचनाका आधारमा प्रहरीले सर्च अभियान चलाउने क्रममा रुपन्देहीको रोहिणी गाउँपालिका–२ खुरहुरियाका बिशाल यादव, भारतको महाराजगंज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेयलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागूऔषध ओसारपसारको सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । कोटहवाबाट छिपागढतर्फ आइरहेको तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भाग्ने क्रममा उनीहरु लडेका थिए ।
लडेका युवकहरुलाई नियन्त्रणमा लिने क्रममा ढुंगा प्रहार गर्दा प्रहरी घाईते भएपछि एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरी उनीहरुलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जनाउनु भयो ।
बाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पतालमा उपचार भइरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ परेकाहरुले प्रयोग गरेको मोटरसाइकल चेकजाँच गर्दा लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij