सोमवार , चैत्र २३, २०८२
भैरहवा, २३ चैत । साई ग्लोबल क्लबले भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको सोमबारको खेलमा जीत निकालेको छ । उसले लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई ५५ रनले पराजित गर्दै जीत हात पारेको हो ।
सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले ४८ ओभर २ बलमा सबै विकेटको नोक्सानीमा २ सय १९ रन बनायो । उसका लागि अजय चाईले ६०, जितेन्द्र केवटले ४५, जावेद खानले ३७, सुभाष यादवले ३० र शैलेन्द्र यादवले १२ रन बनाए । बलिङमा लुम्बिनी शाक्यनका अजमत अलीले ४, आकाश गिरी र रोहित चन्दले २–२ तथा शाह आलमले १ विकेट लिए ।
प्रतिउत्तरमा लुम्बिनी शाक्यन ३६ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६४ रन बनायो । उसका लागि कमल विष्टले ३९, अब्दुर शेषले ३०, राहुल ढाडीले २४, शाह आलमले १८, आसिफ मुसलमानले १४ र आशिष नेपालले १० रन बनाए । बलिङमा साई ग्लोबलका शैलेन्द्र यादवले ३, जितेन्द्र केवटले २ तथा अनुप साहनी, सहज अर्याल, शिवकुमार गुप्ता र बासुदेव यादवले १–१ विकेट लिए । खेलमा अजय चाई प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसै गरी प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रायोजन गरेका छन् ।
त्यस्तै म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रवि कुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित कुमार गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागीता छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij