सोमवार , चैत्र २३, २०८२
भैरहवा, २३ चैत । रुपन्देहीको सिद्धार्थनगर नगर कार्यपालिकाको कार्यालय (प्रशासनिक) भवनको उद्घाटन गरिएको छ । सोमबार आयोजित समारोहमा नगरप्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीले भवनको उद्घाटन गर्नुभएको हो । भवनको २०७८ मंसिर २७ गते शिलान्यास गरिएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले करिब ४ कठ्ठा क्षेत्रफलमा २३ करोड ९२ लाख ६९ हजार ३ सय ५३ रुपैयाँमा भवन निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सिद्धार्थनगर नगर कार्यपालिकाको कार्यालय र स्कई÷रामसागर–जे.भी. चावहिल काठमाडौंबीच २०७८ असार २४ गते भएको सम्झौताबमोजिम २०८० असोज १७ गते सम्पन्न गर्नुपर्ने समयअवधि रहेकोमा निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुन सकेको थिइन । म्याद थप गरी २०८२ असोज ३० गते निर्माण कार्यसम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।
भवन उद्घाटन समारोहमा नगरप्रमुख इश्तियाक अहमद खाँले लुम्बिनीको विकासले यहाँको मात्र नभइ समग्र नेपालको विकास हुने बताउनुभयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन संघीय सरकारसँग आग्रह गर्नुभयो । उहाँले सिद्धार्थनगर नगरपालिकामा धेरै काम भए पनि प्रचार भने गर्न नसकिएको बताउनुभयो । उहाँले निधक्क भइ आफ्ना समस्या राख्न नगरबासीलाई आग्रह गर्नुभयो । नगरप्रमुख खाँले सिद्धार्थनगर नगरपालिका, ओमसतिया, रोहिणी, सियारी र मायादेवी गाउँपालिका मिलेर उपमहानगरपालिका बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नगर उपप्रमुख उमा अधिकारीले नगरबासीको साथ र सहयोग बिना आफूहरु अगाडि बढ्न नसक्ने बताउनुभयो । उहाँले अहिलेसम्म नगरबासीबाट पाएको साथ र सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उपप्रमुख अधिकारीले नकारात्मक सोच हटाइ सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले अधिकार खोज्दा आफ्नो कर्तव्य भने बिर्सन नहुने धारणा राख्नुभयो ।
निवर्तमान नगरप्रमुख हरि प्रसाद अधिकारीले सामाजिक सञ्जालमा विरोध गर्नुभन्दा नगरपालिका पुगेर आफ्ना समस्या सिधै जनप्रतिनिधिसमक्ष राख्न आग्रह गर्नुभयो । उहाँले सीमित बजेट भएकोले एकैपटक सम्पूर्ण क्षेत्रमा विकास हुन नसक्ने बताउनुभयो ।
नगर प्रवक्ता मुक्तिनाथ यादव (भोला)ले जनतालाई ढिलासुस्ती महसुस नहुने गरी जनप्रतिनिधि र कर्मचारीले काम गर्नुपर्ने बताउनुभयो । उहाँले सिद्धार्थनगरमा राम्रा कामहरु अघि बढेको बताउनुभयो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नगरपालिकाको सिंगो टीमले पहल गर्ने उहाँको भनाइ छ ।
चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले नगरपालिकाको नयाँ प्रशासनिक भवनबाट आम नागरिकले सहज, सरल, छिटो र गुणस्तरीय सेवा प्रदान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिद्धार्थनगर नगरपालिकाको पुरानो भवनलाई पार्किङको रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले नयाँ भवनबाट सहज र सरल रुपमा नागरिकले सेवा पाउनुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले जनताको अपेक्षा अनुसार नगरपालिकाले सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकारी देव प्रसाद ज्ञवाली, साहित्यकार विजय गोविन्द श्रेष्ठलगायतले बोल्नुभएको थियो । कार्यक्रममा पत्रकार, साहित्यकार, खेलाडी, विद्यार्थी, कर्मचारी, निर्माण व्यवसायीलगायतलाई सम्मान गरिएको थियो । सिद्धार्थनगर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन सिद्धार्थनगर–५ मा अवस्थित छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij