२०८२, चैत्र २२ गते

Apr 05 2026 | २०८२, चैत्र २२ गते

भैरहवामा पाँचौं सिद्धार्थ रैथाने सडक खाना महोत्सव हुने

आइतवार , चैत्र २२, २०८२

  • 391
    Shares
  • 391
    Shares
  • भैरहवा, २२ चैत । नयाँ वर्षको पूर्व संध्यामा रुपन्देहीको भैरहवामा पाँचौं सिद्धार्थ रैथाने सडक खाना महोत्सव–२०८२ हुने भएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजनामा यही चैत ३० गते महोत्सव हुने भएको हो ।

    नयाँ वर्ष २०८३ को स्वागतार्थ र भैरहवालाई ‘फूड टुरिज्म’को रुपमा विकास गर्न विभिन्न संघ–संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको आइतबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष राजेश महोत्राले बताउनुभयो । स्थानीय स्वाद, कला र संस्कृतिलाई प्रवद्र्धन तथा नयाँ वर्षलाई उल्लासका साथ स्वागत गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको अध्यक्ष महोत्राले जानकारी दिनुभयो । उहाँका अनुसार चैत ३० गते सोमबार बेलुकी ७ राती १२ बजेसम्म महोत्सव सिद्धार्थनगर नगरपालिका–३ (भैरहवा) स्थित सिद्धार्थ क्रिकेट रंगशाला रोडमा हुनेछ ।

    ८० वटा स्टल रहने महोत्सवमा करिब १ करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको उहाँले बताउनुभयो । महोत्सव सञ्चालन गर्न करिब १५ लाख खर्च हुने उहाँले जानकारी दिनुभयो । महोत्सवमा २५–३० हजार दर्शक आउने अपेक्षा गरिएको अध्यक्ष महोत्राले बताउनुभयो ।

    ‘महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धन गर्ने, पर्यटकलाई स्वागत गर्ने र पर्यटन व्यवसायलाई पुर्नउत्थान गर्ने पनि हो । यस्ता खालका कार्यक्रमले भैरहवा क्षेत्रमा आउने पर्यटकहरुलाई बढाउन मद्दत गर्ने, सामाजिक तथा साँस्कृतिक रुपमा सम्पूर्ण आम समुदायहरुलाई जोड्ने काम गर्छ, ’उहाँले भन्नुभयो । महोत्सवले व्यवसाय चलायमान बनाउन मद्दत पुर्याउँछ भन्ने मान्यताका साथ अगाडि बढेको उहाँले बताउनुभयो ।

    महोत्सवमा स्थानीय तथा राष्ट्रिय कला, नृत्य र संस्कृति झल्किने प्रस्तुति एवं डिजेसहित भव्य साँस्कृतिक कार्यक्रम हुने होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका महासचिव महासचिव बाल बहादुर घिमिरे (सुनिल) ले बताउनुभयो।

    महोत्सवमा खानेकुराको गुणस्तरमा ध्यान दिनुपर्ने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष अध्यक्ष चन्द्र बहादुर थापाले बताउनुभयो । उहाँले यस क्षेत्रलाई आर्थिक चलायमान बनाउन पनि महोत्सवले टेवा पुर्याउने बताउनुभयो ।

    पत्रकार सम्मेलनमा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिम बहादुर खत्री, होटल व्यवसायी महासंघ नेपाल लुम्बिनी प्रदेशका महासचिव गणेश प्रसाद बेल्बासे, सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजन विश्वकर्मा, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष लिलाधर भट्टराई लगायतले महोत्सव सफल बनाउन सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

    महोत्सवको सह–आयोजकमा सिद्धार्थनगर नगरपालिका, प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, पर्यटन डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, संरक्षकमा होटल व्यवसायी महासंघ नेपाल र महासंघको लुम्बिनी प्रदेश तथा सहयोगी संस्थामा विभिन्न संघ–संस्था र उद्योगी–व्यवसायी रहेका छन् ।