२०८२, चैत्र २१ गते

Apr 04 2026 | २०८२, चैत्र २१ गते

रूपन्देही सुपर लिग : नेपथ्य ज्ञानोदयको जीत

शनिवार , चैत्र २१, २०८२

  • 241
    Shares
  • 241
    Shares

  • भैरहवा, २१ चैत । नेपथ्य ज्ञानोदय क्रिकेट क्लबले भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शनिबारको खेलमा जीत निकालेको हो । उसले शंकरनगर क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै जीत हात पारेको हो ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको शंकरनगरले ३३ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ७ रन बनायो । उसका लागि रोशन पाण्डेले ३८ र शुभम क्षेत्रीले २१ रन बनाए । बलिङमा नेपथ्य ज्ञानोदयका प्रवेश सारुले १० ओभरमा २९ रन खर्चेर ७ विकेट हात पारे । यस्तै, जय गोदारले २ र विपिन न्यौपानेले १ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको नेपथ्य ज्ञानोदयले ३३ ओभर ५ बलमा ७ विकेट गुमाएर १ सय ११ रन बनाउँदै जित निकाल्यो । उसको जीतमा जय गोदारले अविजित ३५, नितेश ठाकुरले नटआउट १७ र युवराज सेनले १५ रनको योगदान गरे । बलिङका शंकरनगरका शिशिर लुईंटेलले ४ विकेट लिए । खेलमा प्रवेश सारु प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् । त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । 

    त्यसै गरी प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा र म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रायोजन गरेका छन् ।

    म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रवि कुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित कुमार गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागीता छ ।