शुक्रवार , चैत्र २०, २०८२
भैरहवा, २० चैत । भैरहवामा जारी २४ औं संस्करणको रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जीत निकालेको हो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो । उसका लागि कृष्ण कुँवरले ४४, फैजन खानले २३, सिद्धार्थ ढकालले १६, गणेश धितालले १४ र विन्दराम यादवले १० रन बनाए । बलिङमा बुटवल–११ का तौसिफ आलमले ५, आकाश अर्यालले २ तथा थानेश्वर भट्टराई र विभेष खातीले १–१ विकेट लिए ।
जवाफी ब्याटिङमा आएको बुटवल–११ ले ३४ ओभर २ बलमा सबै विकेट गुमाएर जम्मा ८९ रन मात्रै बनायो । उसलाई सस्तैमा रोक्न बलिङका स्टारका तुलबहादुर थापाले ३, गणेश धिताल र कृष्ण विकले २–२ तथा अनिश भट्टराई र इलजान खानले १–१ विकेट लिए । बुटवल–११ का रोजन रेग्मीले १४, रोहित कुमार पासवानले १३ र विभेष खातीले १० रन बनाए । खेलमा तुल बहादुर थापा प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको विजेता टीमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।
त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसै गरी प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ पाउने खेल संयोजक प्रथम पराजुलीले बताए । प्रतियोगिताको विजेता पुरस्कार माउण्ट एभरेष्ट कत्था मिल, उपविजेता पुरस्कार विके ज्वेलर्स, भैरहवा, म्यान अफ द म्याचको पुरस्कार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले प्रायोजन गरेको छन् ।
त्यसै गरी म्यान अफ द सिरिजको पुरस्कार होटल स्टार होलिडे, बेस्ट व्याटर र बलरको पुरस्कार युवा व्यवसायी रवि कुमार रौनियार, उदयीमान खेलाडीको पुरस्कार प्रतीक ट्रेड लिंक र म्याच अवधिभर बलको प्रायोजन व्यवसायी अमित कुमार गुप्ताले गरेका छन् । प्रतियोगितामा ‘ए’ र ‘बी’ डिभिजन गरी २० टीमको सहभागीता छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij