
शुक्रवार , बैशाख २४, २०७८
बुटवल, २४ वैशाख ।
कोरोना संक्रमित बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य नवीन थापा मगरको अस्पतालमा बेड अभावका कारण एम्बुलेन्सभित्रै निधन भएको छ । तीन दिनदेखि अस्पतालमा बेड नपाएर छटपटाइरहेका नेकपा एमाले पार्टीका वडाअध्यक्ष समेत रहेका वडा सदस्य थापाको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समा नै मृत्यु भएको हो ।
पारिवारिक श्रोतका अनुसार ४४ वर्षिय थापा ७ दिनअघि संक्रमित भए पनि बेड अभावका कारण होम आइसोलेशनमा बसेका थिए । थापा आफू ३ दिनअघि अलिक सिकिस्त हुन थालेका कारण एम्बुलेन्स लिएर बेड खोज्न अस्पतालमा पुगेका थिए । त्यतिबेला अस्पतालमा बेड नपाएपछि घरमै अक्सिजन बोकेर आएको पारिवारिक श्रोतले बताए । स्वर्गीय नविनका श्रीमती र १ छोरी छन् ।
दुईदिन अघि स्वासप्रस्वासमा समस्या बढेपछि क्रिमसन अस्पताल लगिएको र आइसीयू, भेन्टिलेटर नभएपछि भैरहवामा अस्पतालहरुमा बेड खोज्दै गर्दा नपाइएको र थापाको एम्बुलेन्समै निधन भएको स्थानीय विकासजंग बस्नेतले बताए । बस्नेतले भने, ‘समयमै उपचार गर्न पाएको भए नविन थापालाई बचाउन सकिन्थ्यो, युवा पिंढीका आशालाग्दो खम्बा यसरी गुमाउनु परेकोमा निकै दुःख लागेको छ ।
समयमै उपचार नपाएका कारण नविनको मृत्यु भएको वडाअध्यक्ष कमलप्रताप थापाले बताए । जनप्रतिनिधिले नै यस्तो अवस्थामा भोग्नुपरेपछि अरूको अवस्था के होला ? महामारी भयावहले घेरिसक्यो, जनता आक्रान्त छन्बु-टवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए।
केही समय यता बिरामी संख्या अत्यधिक रुपमा बढ्दै गइरहेको र अस्पतालहरुमा आइसीयू, भेन्टिलेटर लगायतका बेड अभावका कारण मानिसहरुले अकालमै ज्यान गुमाउनु परेको भन्दै आम मानिस चिन्ता व्यक्त गर्न थालेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij