२०८२, चैत्र १७ गते

Mar 31 2026 | २०८२, चैत्र १७ गते

माटो उत्खनन् तथा ओसारपसारमा संलग्न सवारीसाधन नियन्त्रणमा

मंगलवार , चैत्र १७, २०८२

  • 235
    Shares
  • 235
    Shares
  •  
    भैरहवा, १७ चैत ।रुपन्देहीमा माटो उत्खनन् तथा ओसारपसारमा गरिरहेको अवस्थामा तीनवटा सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरी टोलीले सवारीसाधन नियन्त्रणमा लिएको हो ।
     
    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दका अनुसार शुद्धोदन गाउँपालिका–२ स्थित दानव नदीबाट अवैध रुपमा माटो उत्खनन् तथा ओसारपसार गरिरहेको अवस्थामा फेला परेका सवारीसाधन नियन्त्रणमा लिइएको हो ।
     
    जे.सि.बी., टिप्पर र एस्काभेटर नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि शुद्धोदन गाउँपालिकाको कार्यालयमा पठाउँदा ती सवारीसाधनलाई ३ लाख २० हजार रुपैयाँ जरिवाना भएको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिनुभयो ।
     
    त्यस्तै प्रहरीले चारजना फरार प्रतिवादीहरु पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतको विभिन्न मिति र फैसलाबमोजिम विभिन्न मुद्दामा कैद तथा सजाय भइ हालसम्म फरार रहेका प्रतिवादीहरुले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
     
    डीएसपी चन्दका अनुसार नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, जिल्ला प्रहरी कार्यालय, रुपन्देही एवं मातहतसमेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई सोमबार (आज) पक्राउ गरेको हो । रुपन्देहीस्थित विभिन्न स्थानहरुबाट फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ गरिएका चारैजनालाई रुपन्देही जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
     
    पक्राउ पर्नेमा सवारीज्यान मुद्दाका रुपन्देहीको शुद्धोदन गाउँपालिका–५ का घनश्याम भन्ने आदित्य प्रसाद थारु, चेक अनादर मुद्दाका सियारी गाउँपालिका–७ का शालिकराम ज्ञवाली, सोही मुद्दाका सियारी–४ का सरोज कुमार राजभर र सिद्धार्थनगर नगरपालिका–३ का साविर अलि शेष रहनुभएको छ ।
     
    त्यसै गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले अन्दाजी मूल्य १० लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सोमबार विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली चोरीपैठारी गरिएको सामान नियन्त्रणमा लिइएको डीएसपी चन्दले बताउनुभयो । 
     
    नियन्त्रणमा लिइएका सामान र सवारीसाधन आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहिया पठाइएको उहाँले जानकारी दिनुभयो । बरामद गरिएको सामानमा बोईलर कुखुरा, लेडिज सुट, विभिन्न किराना सामान, ट्याक्टरको पार्टस, इलेक्ट्रिक सामान, केरा, चिनी, तरकारी, साडी, फेबिकोल, पेन्ट, मोटरसाइकल लगायत छन् ।