२०८२, चैत्र ७ गते

Mar 21 2026 | २०८२, चैत्र ७ गते

लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

शुक्रवार , चैत्र ६, २०८२

  • 265
    Shares
  • 265
    Shares
  • बुटवल, ६ चैत । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवाको शुभारम्भ भएको छ । अस्पतालको ११६ औं स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार एमआरआई सेवा शुभारम्भ गर्नुभएको हो ।

    लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा करिब १२ करोड लगानीमा एमआरआई मेसिन जडानपछि सेवा सञ्चालनमा ल्याइएको हो । सेवाग्राहीको बढ्दो चाप र जनअपेक्षालाई ध्यानमा राख्दै सीमित स्रोतसाधनको अधिकतम प्रयोग गरी सेवा प्रवाहलाई गुणस्तरीय बनाउँदै लगिएको अस्पतालले जनाएको छ ।

    mri.jpeg

    मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रादेशिक अस्पताललाई थप उचाइमा पुर्याउन प्रतिष्ठानको रूपमा विकास गर्ने गरी पहल भइरहेको बताउनुभयो । उहाँले विशिष्ट र विशिष्टीकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच थप सुनिश्चित गर्न प्रतिष्ठानको अवधारणा अघि सारिएकोे स्पष्ट पार्नुभयो । 

    उहाँले प्रदेशभित्रै सबैप्रकारका रोगको उपचार सम्भव हुने गरी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताउनुभयो । ‘प्रादेशिक अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गरेर लैजाने योजना छ । त्यसमा हामीले ध्यान दिएका छौं,’ उहाँले भन्नुभयो–‘यसलाई नमूना अस्पतालका रूपमा विकास गर्न प्रदेश सरकारले काम अघि बढाएको छ । सबैको साझा प्रयासबाट आमूल परिवर्तन सम्भव भएको छ । समन्वय र सहकार्यकै कारण अस्पताल यहाँसम्म आइपुगेको हो ।’ 

    प्रदेश सरकारले सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले सेवाग्राहीले सस्तो र सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताउनुभयो । ‘एमआरआई मेसिन जडान भएपछि सेवाग्राहीले अब सस्तो र सुलभ ढंगले सेवा लिन पाउने अवसर प्राप्त भएको छ । गोरखपुर वा काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।’ उहाँले भन्नुभयो–‘एक हजार दुई सय शैयाको अस्पताल निर्माणको काम अघि बढेको छ । २१ महिनाको अवधिमा ४० प्रतिशत भौतिक प्रगति भएको छ । तीन वर्षभित्र सबै सेवा नयाँ भवनबाट सञ्चालन गर्ने योजना छ ।’

    स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न प्रदेश सरकारले आवश्यक कानूनी व्यवस्था समेत गरिसकेको उल्लेख गर्दै उहाँले जिम्मेवारीपूर्वक सेवा प्रवाह गरिरहेकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले अझ सक्रिय र समर्पित भएर जनसेवामा लाग्न आग्रह गर्नुभयो ।

    लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारु, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ तथा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले अस्पतालमा विशिष्टीकृत सेवाहरु थप गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँहरुले सेवा विशिष्टीकृतका लागि सरकारले आवश्यक भूमिका खेल्ने प्रतिबद्धतासहित उनीहरुले सबै तह र क्षमताका सेवाग्राहीले समान अस्तित्व महसुस गर्ने गरी सेवामा लाग्न यहाँ कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।

    mul samaroha.jpeg

    अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद स्वास्थ्य सेवाको क्षेत्रमा उल्लेख्य प्रगति प्राप्त गर्न सक्नुमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मेहनत महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले अस्पतालमा विगत लामो समयदेखि करारमा कार्यरत स्वास्थ्यकर्मीहरुको बारेमा समेत प्रदेश तथा संघीय सरकाले ठोस योजना ल्याएर समस्या सम्बोधन हुनुपर्नेमा जोड दिनुभयो । अस्पताल विकास समितिलाई प्राप्त अधिकारहरुको बारेमा थप स्पष्टताको आवश्यकता औल्याउँदै उहाँले सरकारैपिच्छे फेरिने कार्यविधि, नियुक्ति र खारेजीको श्रृंखला अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

    सेवा विशिष्टीकृत तथा प्रविधिमा फड्को 

    अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. इन्द्र ढकालले पछिल्लो १ वर्षको अवधिमा भएका उपलब्धीरुबारे जानकारी गराउनुभएको थियो । अस्पतालमा प्रसूति तथा बालरोग भवनमा अत्याधुनिक ४ वटा शल्यक्रिया कक्ष स्थापना, १४ शय्याको पोस्ट अपरेटिभ र ८ शय्याको रिकभरी वार्डसहितको सुविधायुक्त अपरेसन थियटर सञ्चालन, आकस्मिक कक्षमा हुने बिरामीको चापलाई मध्यनजर गर्दै ४५ शय्याको मेडिकल वार्डलाई स्तरोन्नति गरी ९० शय्याको विशाल भौतिक संरचना निर्माण लगायतका भौतिक संरचनाहरु विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।

    त्यसै गरी प्रविधिको क्षेत्रमा बिरामीको सहजताका लागि अनलाइन टिकट प्रणालीको सुरुवात, बिलिङ काउण्टरहरूमा डाइनामिक डिजिटल पेमेन्ट सुविधासहितको छुट्टै डिजिटल पेमेन्ट काउण्टर स्थापना गरिएको उहाँले बताउनुभयो । प्रयोगशाला जाँचको रिपोर्टका लागि लाइन बस्नुपर्ने बाध्यता अन्त्य गर्दै बिरामीको मोबाइलमा एसएमएसमार्फत रिपोर्ट जाने र अटोमेटिक डिस्प्याच मेशिनबाट बिरामी आफैले रिपोर्ट प्रिन्ट गर्न सक्ने अत्याधुनिक व्यवस्था लगायतका सुविधा मिलाइएको उहाँले जानकारी दिनुभयो ।

    अस्पतालमा हुने भीड व्यवस्थापनका लागि स्वास्थ्य बीमाका बिरामीहरूका लागि विशेष ध्यान दिँदै ३५ वटा टिकट काउण्टरमार्फत सेवा प्रवाह तथा जसमध्ये १० वटा काउण्टरबाट एकैसाथ टिकटिङ र बिलिङ सुविधा सुरु गरिएको उहाँले बताउनुभयो । एमआरआई सुविधा, अत्याधुनिक न्यूरो माइक्रोस्कोपको माध्यमबाट जटिल नशाजन्य शल्यक्रिया तथा आर्थोस्कोपी मेसिनबाट जोर्नीका नशाहरूको पुनर्निर्माण र जोर्नी प्रत्यारोपण सेवा सञ्चालन, आवश्यक उपकरणको अभावमा बन्द रहेका मूत्र प्रणाली र ल्याप्रोस्कोपिक विधिबाट गरिने पित्तथैलीको शल्यक्रिया पुनः सुचारु गरी सेवालाई निरन्तरता, मुत्र प्रणालीमा रहेका पत्थरीको आधुनिक उपचारका लागि थिलिएम लेजर मेसिन जडान गरी सेवालाई थप प्रभावकारी बनाइएको लगायतका विषयहरुले महत्वपूर्ण उपलब्धीका रुपमा उल्लेख गर्नुभयो ।

    कार्डियोलोजी विभागमा टिएमटी, हल्टर मोनिटरिङ, एबीपीएम जडान तथा इएनटी विभागमा अडियोमेट्री जडान, स्तन क्यान्सर निदानका लागि क्यान्सरको समयमै पहिचान गर्न मेमोग्राफी सेवा तथा छुट्टै ब्रेस्ट क्लिनिक सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । रेडियोलोजी र इण्डोस्कोपीतर्फ अत्याधुनिक ५०० एमएको डिजिटल एक्सरे मेसिन जडान तथा इण्डोस्कोपी सेवामा रहेको लामो पर्खाइ अन्त्य गर्न थप मेसिनको व्यवस्थापन गरी दैनिक नियमित सेवा सुनिश्चित गरिएको उहाँले उल्लेख गर्नुभयो । त्यसै गरी आकस्मिक समयमा रगतको अभाव हुन नदिन इमरजेन्सी ब्लकभित्रै छुट्टै ब्लड बैंक स्थापना गरिएको मेसु ढकालले जानकारी गराउनुभयो । 

    पूर्व कर्मचारीहरुलाई सम्मान 

    अस्पतालको स्थापना दिवसको अवसरमा अवकाशप्राप्त कर्मचारीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । साथै २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो । अस्पतालका पूर्व मेडिकल सुपेरिटेण्डेण्ट डा. राजेन्द्र खनाल, पूर्व लेखा प्रमुख मित्रलाल त्रिपाठी तथा पूर्व नर्सिङ प्रमुख प्रभा ज्ञवालीलाई सम्मान गरिएको थियो । जसले आफ्नो कार्यकालमा अस्पतालको विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो ।

    त्यसै गरी लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव तथा पूर्व नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण अस्पतालका प्रशासन प्रमुख प्रेम गौतमले गर्नुभएको थियो ।

    अस्पतालमा दीर्घ सेवा पुरस्कारबाट वरिष्ठ नर्सिङ निरीक्षक कमला ज्ञवाली, विष्णु खनाल तथा कार्यालय सहयोगी रामु भुजलाई सम्मान गरिएको थियो । त्यसै गरी हालै सेवा निवृत्त खोप सुपरभाइजर दिवाकर महर्जन, सहयोगी कर्मचारीहरु धनसरा भण्डारी, पदम बहादुर ठाकुर र धना खवासलाई पनि सम्मानसहित बिदाई गरिएको थियो ।