२०८२, चैत्र ५ गते

Mar 19 2026 | २०८२, चैत्र ५ गते

लुम्बिनीबाट ५ बर्षे पैदल यात्रा गर्दै सल्यानका केसी...

बिहिवार , चैत्र ५, २०८२

  • 271
    Shares
  • 271
    Shares
  • लुम्बिनी । सल्यानका मदन केसीले ‘नेपाल चिन्ने, नेपाल बनाउने अभियान’ को शुरुवात गर्नु भएको छ । अभियन्ता केसीले बुद्ध जन्मस्थल लुम्बिनीबाट ‘महान नेपाल ५ वर्षे राष्ट्रिय पदयात्रा’ सुरु गर्नु भएको हो । सल्यानको दार्मा गाउँपालिका–५ का २६ वर्षीय केसीले बिहीबार बुद्ध जन्मथल लुम्बिनीबाट पदयात्रा सुरु गर्नुभएको हो । उहाँले ५ बर्षे पैदल यात्राका क्रममा गरिने कामका बिषयमा घौषणापत्र सार्वजनिक गरेर यात्राको सुभारम्भ गर्नुभएको हो । 

    लुम्बिनीबाट केसीलाई उहाँका बुवा तेजु खत्री र आमा लक्ष्मी खत्रीले खादा–टिका लगाइदिएर यात्राको सुभारम्भ गराउनु भएको थियो । ‘नेपाल चिन्ने, नेपाल बनाउने अभियान’ सहित केसीले सुरु गरेको पदयात्राका क्रममा ‘नेपालको माटो, नेपालको आवाज’, ‘गाउँ–गाउँ पुगौं, राष्ट्र बुझौं’, ‘मेरो पाँच वर्ष राष्ट्रको लागि’ भन्ने नाराहरु तय गरिएको छ । केसीले नेपाललाई केवल भौगोलिक रुपान मात्र नबुझि इतिहास, संस्कृति, संघर्ष र आशाको राष्ट्र भएको बताउदै यसैगरी बिकास गर्नु पर्ने बताउनु भयो ।

    अभियान सुभारम्भ गर्दै केसीले महान नेपाल ५ बर्षे पैदल यात्राका क्रममा नेपालका सबैजसो ठाउँहरु, विकट भनिएका स्थलहरुमा स्थलगत रुपमा पुगेर त्यहाँको अबस्थाका बिषयमा आम नागरिकलाई जानकारी दिने बताउनु भयो । 

    ‘आजको दिनमा पनि नेपालका धेरै गाउँ ठाउँहरू राज्यको नजरबाट टाढा रहेका छन् । विकासको अवसरबाट वञ्चित छन् । आफ्नो आवाज सुनाउन सकिरहेका छैनन् । यसैले यो महान नेपाल ५ वर्षे राष्ट्रिय पदयात्रा सुरु गरेको हुँ । नेपाललाई नक्साबाट होइन, पैदल हिँडेर बुझ्न चाहान्छु, उहाँले भन्नुुभयो । करिव ५ बर्ष विप्लव नेतृत्वको नेकपाबाट राजनीति गर्नुभएका केसीले राजनीतिबाट मात्रै देश बन्न नसक्ने बताउदै पदयात्रा अभियानमा लागेको बताउनु भयो । 

    उहाँले आजदेखि २०८७ साल चैत्र ४ गतेसम्म देशभर आफु हिंड्ने बताउनुभयो । दैनिक १५–२५ किलोमिटर हिँड्ने, स्थानीय समुदायसँग बस्ने, गाउँमा संवाद गर्ने, भिडियो, फोटो र लेखनद्वारा दस्तावेज बनाउने काम गर्ने उहाँको भनाई छ । 

    अभियन्ता केसीले नेपालका सबै भूगोल हिमाल, पहाड, तराईका दुर्गम गाउँ तथा सबै ठाउँ पुगेर वास्तविक नेपाल बुझ्ने, गाउँ–गाउँबाट नागरिकका समस्या, सम्भावना र सपना संकलन गर्ने, इतिहास र संस्कृति संरक्षण गर्ने, स्थानीय इतिहास, भाषा, परम्परा जीवनशैली सवैलाई दस्तावेज बनाउने आफ्नो उद्देश्य रहेको अभियन्ता बतनउनुभयो । यस्तै, यात्रा मार्फत् नेपालका सबै जाति, भाषा र संस्कृतिलाई जोड्ने, अनुसन्धान र ज्ञान बटुल्ने बताउनुभयो ।

    यो अभियानसँग महान रिसर्च प्रालि जोडिएको र यसले अनुसन्धान, डाटा संकलन तथा डकुमेन्टेशनको काम गर्ने उहाँको भनाई छ । 
    केसीका अनुसार यो अभियान सत्य, अनुशासन, साहस, अनुसन्धान र राष्ट्रप्रेम गरी पाँच सिद्धान्तमा आधारित हुनेछ ।