२०८२, चैत्र ५ गते

Mar 19 2026 | २०८२, चैत्र ५ गते

सांसदहरुको प्राथमिकतामा विकास, सुशासन र समान अवसर

बिहिवार , चैत्र ५, २०८२

  • 226
    Shares
  • 226
    Shares
  • काठमाडौं, ५ चैत । नवनिर्वाचित सांसदहरुले विकास, सुशासन र समान अवसरलाई प्राथमिकतामा राखेका बताउनुभएको छ । 

    बिहीवार निर्वाचन आयोगमा प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित प्रमाणपत्र लिएपछि संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले रोजगारी, उत्पादनमा वृद्धि र देशको समृद्धि नै आफूहरुको मुख्य एजेण्डा रहेको बताउनुभएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समिना मियाँले हालै भएको निर्वाचनले पुराना दल र राजनीतिक प्रवृत्तिलाई जनताले अन्त्य नयाँ पुस्तामा पुस्तान्तरण गरेको बताउनु भयो ।

    उहाँले जनताको माग र इच्छाअनुसार काम गर्नु नै आफ्नो प्राथमिक लक्ष्य भएको स्पष्ट पार्नुभयो । पार्टीले काठमाडौँका पूर्वमेयर बालेन्द्र साहलाई भावी प्रधानमन्त्री तोकेर निर्वाचनमा गएकोले जनतामा उहाँमाथी ठूलो भरोसा गरेर मत दिएको बताउनु भयो । साहले काठमाडौंमा गरेका विकासका कामलाई देशभर विस्तार गर्ने योजना रहेको उहाँको भनाई छ । 

    उहाँले भन्नुभयो, ‘पुराना दल र व्यवस्थाको अन्त्य तथा अवको राजनितिक यात्रा चाहीँ नयाँ पुस्तालाई पुस्तान्तरण गर्नुपर्छ भनेर जनताले अभिमत दिएका छन् । हामीले जनताको माग र ईच्छालाई पूरा गर्ने हाम्रो लक्ष्य छ । भावी प्रधानमन्त्री बालेन्द्र साह काठमाडौंको पूर्वमेयर पनि हुनुहुन्छ, मेयर हुँदाखेरी उहाँले मेयरको अधिकार कति हुन्छ ? भन्नेकुरा देशभर चिनाउन सफल हुनुभएको छ ।

    उहाँले काठमाडौमा गरेका जतिपनि विकासका कामहरु छन्, त्यसलाई देशभर विस्तार गर्नेछौँ । भावी प्रधानमन्त्री बालेन्द्र साहले यो देशको समृद्धिको लागि जनतालाई निराश गराउनु हुँदैन ।’ 

    रास्वपाकै सांसद प्रभा ढकालले जनताको प्राथमिकता विधिको शासन, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र स्वरोजगार रहेकोले सोहीअनुसार काम गर्ने बताउनु भयो । उहाँले ठूला भाषणभन्दा साना तर प्रभावकारी काममार्फत परिवर्तन सम्भव हुने उल्लेख गर्नुभयो ।

    हरेक दिन हजारौँ युवाहरु विदेशिन बाध्य रहेको उल्लेख गर्नुहुँदै उहाँले देशमा नै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । पहुँचका आधारमा सेवा प्रदान भइरहेकोले त्यसलाई हटाउन अति आवश्यक रहेको उहाँको भनाई छ । यसलाई बलियो कानून बनाएर प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘यो देशमा हामी ठूला ठूला कुरा गर्छौं, तर सानासाना कुराबाट पनि हामी धेरै कामहरु गर्नसक्छौँ । जनताले ठूला कुराहरु खोजेका होईनन्, यो देशमा विधिको शासन, शिक्षा, स्वास्थ्य, स्वरोजगार खोजेका छन् । प्रत्येक दिन हजारौँको संख्यामा हाम्रा युवाहरु विदेशीनु परेको अवस्था छ, संगै स्वास्थ्य, शिक्षामा पनि त्यस्तै भ्रष्टाचार छ, दलियकरण छ ।

    पहुँचका आधारमा विपन्नले पाउने अधिकार खोसिएको छ । यी कुराहरुलाई निति नियम बलियो बनाएर कार्यन्वयन गर्ने पक्षमा हामी अगाडी बढ्नेछौँ ।’ 

    सांसद श्रद्धा कुँवर क्षेत्रीले नयाँ सरकारले विकास र बजेट विनियोजन गर्दा देशभर सन्तुलित रुपमा गर्नुपर्ने बताउनु भयो । उहाँले लुम्बिनी प्रदेशसँगै कर्णाली र सुदूरपश्चिम जस्ता पिछडिएका क्षेत्रका सम्भावनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । सबै क्षेत्रलाई समान रूपमा हेर्नु राज्यको दायित्व रहेको उहाँको भनाई छ । 

    उहाँले भन्नुभयो, ‘हामी समग्र देशको लागि देशको आवश्यकता के छ भनेर बजेट र विकास विनियोजन गर्छौ । लुम्बिनी प्रदेश मात्रै नभएर कर्णली, सुदूरपश्चिमदेखी लिएर पिछडिएको क्षेत्रमा पनि हामीले आफ्नो सम्भावनाहरुलाई लिएर जानुपर्छ । सबैलाई बराबर रुपमा हेर्नुपर्छ ।’

    नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बढ्दो महँगी, विदेशिएका युवाहरुको समस्यालाई संसदमा उठाउने जानकारी दिनुभयो । उहाँले नेपालको संविधानमा राखिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय स्वाधीनताको संरक्षण तथा जनजीविकासँग जोडिएका मुद्दामा ध्यान दिने बताउनु भयो ।

    संघीय लोकतान्त्रिक व्यवस्था माओवादी जनयुद्धबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्नुपर्नेमा जोड दिनुभयो । महिला, दलित, अपाङ्गता भएका व्यक्ति लगायतका उत्पीडित वर्गलाई राजनीतिक मूलधारमा ल्याउने वातावरण यसै व्यवस्थाले सिर्जना गरेको उहाँको दाबी छ । 

    उहाँले भन्नुभयो, ‘जनताको मन जित्नको लागी हामीले विगतमा पनि काम गरेका थियौँ । जुन यो संघिय लोकतान्त्रिक व्यवस्था छ, त्यो माओवादी जनयुद्धले लडेर ल्याएको हो । त्यसैले दुरदराजका महिला, दलित, उत्पिडनमा परेका वर्ग, अपाङ्गहरुलाई पनि संसदमा ल्याउने वातावरण बनाएको हामीले हो ।

    जुन व्यवस्था हामीले ल्याएका थियौँ, त्यसको कार्यन्वयनमा कहीँ न कहीँ कमीकमजोरी भएको हुनाले हामीले अब त्यसलाई समिक्षा गरेर आत्मसात गरेर संविधानमा लेखिएका व्यवस्थालाई कार्यान्वयन गर्न ध्यान दिन्छौँ ।

    भूराजनितिक लगायतका हिसावले देशको स्वाधिनतामा पनि हामीले ध्यान दिनेछौँ । तत्कालिन अवस्थामा जनताको डेलिभरी, मध्यपूर्वमा आज जुन आन्दोलन भइकरहेको छ, नेपाली भान्सा महंगिएको छ । दैनिक जनजिविकाका सवालहरुलाई हामीले संस्थागत हिसावले अगाडी उठाउनेछौँ ।’ 

    उहाँले व्यवस्था बदलिएको भएपनि जनताको अवस्थामा अझै परिवर्तन ल्याउनुपर्ने भएकोले धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । चुनावमा पार्टीले व्यहोरेको हारको बारेमा समिक्षा गर्दै अगाडी बढ्ने उहाँको भनाई छ ।