२०८२, चैत्र २ गते

Mar 16 2026 | २०८२, चैत्र २ गते

मध्य गाजामा प्रहरीको गाडीमा इजरायली हवाई आक्रमण, ८ जनाको मृत्यु

सोमवार , चैत्र २, २०८२

  • 214
    Shares
  • 214
    Shares
  • काठमाडौं, २ चैत । मध्य गाजाको अल–जवायदा शहरको प्रवेशद्वार नजिकै प्रहरीको गाडीलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा आठ जनाको मृत्यु भएको गाजाको आन्तरिक मामिला अधिकारीहरूले बताएका छन् ।

    स्थानीय स्रोतहरूकाअनुसार इजरायली ड्रोनले हमासद्वारा सञ्चालित आन्तरिक मामिला अधिकारीहरूको प्रहरी गाडीलाई लक्षित गरेको थियो । प्यालेस्टिनी चिकित्सा स्रोतहरूले बताएअनुसार यस हवाई आक्रमणमा वरपर रहेका अन्य धेरै व्यक्तिहरू पनि घाइते भएका छन् ।

    प्रत्यक्षदर्शीहरूकाअनुसार आईतवार नै मध्य गाजाको नुसेरात शरणार्थी शिविरको पश्चिममा रहेको अल–सवरहा क्षेत्रमा प्यालेस्टिनीहरूको भेलामा इजरायली ड्रोनले कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

    शिविरमा रहेको अल–अवदा अस्पतालले उक्त आक्रमणमा एक पुरुष, उनकी पत्नी र उनीहरूका छोराको मृत्यु भएको जनाएको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूले आईतवार आफ्नो दैनिक अपडेटमा रिपोर्ट गरेअनुसार विगत २४ घण्टामा गाजा पट्टीका अस्पतालहरूमा पाँच जनाको शव र आठ जना घाइतेहरू आइपुगेका छन् ।

    अधिकारीहरूकाअनुसार अक्टोबर २०२५ मा युद्धविराम लागू भएयता मृत्यु हुनेको सङ्ख्या ६ सय ६३ पुगेको छ भने १ हजार ७ सय ६२ जना घाइते भएका छन् । यससँगै अक्टोबर ७, २०२३ यता मृत्यु हुनेको कुल सङ्ख्या ७२ हजार २ सय ३९ र घाइते हुनेको सङ्ख्या १ लाख ७१ हजार ८ सय ६१ पुगेको छ ।