२०८२, फाल्गुण १२ गते

Feb 24 2026 | २०८२, फाल्गुण १२ गते

साई ग्लोबल कप : प्यारामाउण्ट र न्यू होराइजन विजयी

मंगलवार , फाल्गुण १२, २०८२

  • 130
    Shares
  • 130
    Shares
  • भैरहवा, १२ फागुन । प्यारामाउण्ट र न्यू होराइजन कलेज ११ औं संस्करणको जिल्लास्तरीय अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगितामा विजयी भएका छन् । सोमबार भएका दुई खेलमा प्यारामाउण्टले रुपन्देही क्याम्पसलाई १ सय १५ रनले पराजित गर्यो । त्यस्तै न्यू होराइजनले नविन औद्योगिकलाई १ सय ६१ रनले हराएको छ ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको प्यारामाउण्टले ४ विकेट गुमाएर १ सय ६२ रन बनायो । उसका लागि अमन बोहराले अविजित ५५, सन्देश पन्थीले ४८ र देव खनालले १५ रन बनाए । बलिङमा रुपन्देही क्याम्पसका सन्तोष यादव र मनिष थापाले २–२ विकेट हात पारे ।

    जवाफी ब्याटिङ गरेको रुपन्देही क्याम्पस १० ओभर ५ बलमा अलआउट हुँदै ४७ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा प्यारामाउण्टका आशुतोष पाण्डे र सागर भण्डारीले ४–४ विकेट लिए । रुपन्देही क्याम्पसका सन्तोष यादवले २३ र जितेन्द्र साहनीले १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । खेलमा अमन बोहरा प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ पाए ।

    त्यस्तै दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको न्ू होराइजनले ६ विकेट गुमाएर २ सय ७ रनको बलियो योगफल खडा गर्यो । उसका लागि विप्रसन केसीले अविजित ६०, आरिफ खाँनले ४८ र अमर मिश्राले २५ रन बनाए । बलिङमा नविन औद्योगिकका अर्जुन तरामु र केशव सुवेदीले २–२ विकेट लिए ।

    प्रतिउत्तरमा नविन औद्योगिक १२ ओभर २ बलमा अलआउट हुँदै जम्मा ४६ रन मात्रै बनाउन सक्यो । उसका लागि अजय सिंह यादवले १७ रन बनाए पनि अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा न्यू होराइजनका महेश भरले ७ विकेट लिए । उनी प्लेयर अफ द म्याच भइ १ हजार रुपैयाँ हात पारे ।

    फागुन १४ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजहरुको सहभागिता रहेको खेल संयोजक निरज प्रताप खाँणले बताए । प्रतियोगिताको विजेता टीमले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेता टीमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

    त्यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बलरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको अनुशासित टिमलाई पनि सम्मानित गरिने आयोजकले जनाएका छन् ।