२०८२, फाल्गुण ११ गते

Feb 23 2026 | २०८२, फाल्गुण ११ गते

शिक्षा क्षेत्रमा गुणस्तर सुधार र सीपमूलक शिक्षामा जोड दिने पौडेलको प्रतिबद्धता

सोमवार , फाल्गुण ११, २०८२

  • 142
    Shares
  • 142
    Shares
  • बुटवल, ११ फागुन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रूपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएका विष्णु प्रसाद पौडेलले सार्वजनिक पुराना योजनाको पूर्णतासँगै दीर्घकालीन नयाँ विकासका प्रतिवद्धताले मतदातामा थप आकर्षण बढेको छ । उहाँले सार्वजनिक गर्नुभएका २० बुँदे चुनावी एजेण्डालाई आधार मानेर चुनावी प्रतिष्पर्धा थप तातिएको हो । उहाँले आफूले बोलेका होइन, अघिल्ला कार्यकालमा काम गरेर देखाएका योजनामात्रै समेटिएको दावी गर्दै पौडेलले भौतिक पूर्वाधार, आर्थिक विकास, रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई, पर्यटन, उर्जा र सामाजिक सुरक्षासम्मका विषयलाई समेट्ने गरी विस्तृत प्रतिबद्धता अघि सार्नुभएको छ ।

    पौडेलको २० बुँदे एजेण्डाको केन्द्रमा ‘वृहत् बुटवल’ अवधारणा राखिएको छ । पश्चिम नेपालकै व्यापारिक तथा आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको बुटवललाई आधुनिक सहरमा रूपान्तरण गर्दै त्यसको प्रभाव रूपन्देहीका ग्रामीण भेगसम्म विस्तार गर्ने लक्ष्य उहाँले अघि सार्नुभएको छ । बढ्दो सहरीकरणसँगै ट्राफिक व्यवस्थापन, ढल, खानेपानी, हरियाली, फोहोर व्यवस्थापन र आवासीय योजनालाई एकीकृत रूपमा अघि बढाउने प्रतिबद्धता उहाँको एजेण्डामा उल्लेख छ ।

    भौतिक पूर्वाधारतर्फ पौडेलले सबैभन्दा महत्वपूर्ण योजनाका रूपमा कालीगण्डकी–तिनाउ पथान्तरणलाई राख्नुभएको छ । यो आयोजना सम्पन्न भए रूपन्देहीसहित लुम्बिनी क्षेत्रको दीर्घकालीन खानेपानी समस्या समाधान हुने उहाँको दावी छ । त्यस्तै बुटवल–पोखरा सडक स्तरोन्नति गरी दुई घण्टामा पोखरा पुग्ने अवस्था बनाउने, बुटवल–नारायणघाट सडकलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने, बुटवल–सुनौली अन्तर्राष्ट्रिय व्यापारिक मार्गलाई व्यवस्थित बनाउने एजेण्डा पनि समेटिएको छ ।

    औद्योगिक विकास र रोजगारी सिर्जनालाई पौडेलले आफ्नो प्रमुख प्राथमिकतामा राख्नुभएको छ । विशेष आर्थिक क्षेत्र, औद्योगिक करिडोर र निजी क्षेत्रसँगको सहकार्यमा उद्योग स्थापना गरेर युवालाई स्वदेशमै रोजगारी दिन सकिने उहाँको तर्क छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई सीप र पूँजीमा आधारित उद्यमतर्फ आकर्षित गर्न सहुलियत ऋण, तालिम र बजार सुनिश्चितताको व्यवस्था गर्ने प्रतिबद्धता उहाँले बताउनुभयो ।

    कृषि क्षेत्रमा आधुनिकिकरण र व्यावसायिकरण पौडेलको अर्को मुख्य एजेण्डा हो । सिँचाई सुविधा विस्तार, कृषिमा यान्त्रिकीकरण, उत्पादनको उचित मूल्य, भण्डारण र प्रशोधन केन्द्र स्थापना गरेर किसानको आम्दानी बढाउने योजना उहाँले अघि सार्नुभएको छ । रूपन्देहीको उर्वरभूमिलाई व्यावसायिक खेतीसँग जोड्दै कृषि आधारित उद्योग विकास गर्ने लक्ष्य पनि उहाँको घोषणापत्रमा उल्लेख छ ।

    शिक्षा क्षेत्रमा गुणस्तर सुधार र सीपमूलक शिक्षामा जोड दिने पौडेलको प्रतिबद्धता छ । सामुदायिक विद्यालयको भौतिक संरचना सुधार, शिक्षक तालिम, प्रविधिमैत्री शिक्षा र प्राविधिक शिक्षालाई विस्तार गर्दै स्थानीय आवश्यकतासँग शिक्षा जोड्ने उहाँको भनाइ छ । उच्च शिक्षाका लागि रूपन्देहीमै सुविधा विस्तार गरी विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता कम गर्ने लक्ष्यसमेत उहाँले राख्नुभएको छ ।

    स्वास्थ्य क्षेत्रको सुधार पौडेलको अर्को प्राथमिकता हो । सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क र सहज रूपमा उपलब्ध गराउने, अस्पतालको क्षमता विस्तार, विशेषज्ञ सेवा स्थानीयस्तरमै पुर्याउने र स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने उहाँको प्रतिबद्धता छ । ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै मोबाइल स्वास्थ्य सेवा र टेलिमेडिसिनको अवधारणासमेत उहाँले अघि सार्नुभएको छ ।

    उर्जा र पर्यटन विकासलाई पनि पौडेलले आर्थिक समृद्धिसँग जोडेर हेर्नुभएको छ । विद्युत् उत्पादन, प्रसारण र वितरणलाई व्यवस्थित गर्दै उद्योग र घरायसी प्रयोगका लागि गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्ने उहाँको भनाइ छ । धार्मिक, साँस्कृतिक र प्राकृतिक पर्यटन प्रवद्र्धन गर्दै लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने योजनासमेत उनको एजेण्डामा समावेश छ ।

    सामाजिक सुरक्षाको सवालमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, एकल महिला, दलित र विपन्न समुदायलाई लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता पौडेलले जनाउनुभएको छ । सामाजिक सुरक्षा भत्तालाई समयानुकूल बनाउँदै सेवा प्रवाहलाई सरल र पारदर्शी बनाउने उहाँको भनाइ छ ।

    सुशासन र पारदर्शीतालाई पनि पौडेलले चुनावी एजेण्डाको आधार बनाउनुभएको छ । भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा डिजिटल प्रणाली, छिटोछरितो सेवा र जनप्रतिनिधिको जवाफदेहितालाई मजबुत बनाउने उहाँले बताउनुभएको छ । विकास योजनामा जनसहभागीता र निगरानी बढाएर ‘कागजमा होइन, मैदानमा देखिने विकास’ गर्ने उहाँको दावी छ ।
    पौडेलले आफ्नो २० बुँदे एजेण्डालाई चुनावी नारामा सीमित नराखी अघिल्ला कार्यकालमा सम्पन्न तथा सुरु भएका आयोजनासँग जोडेर प्रस्तुत गर्नुभएको छ । यसले उहाँको एजेण्डा व्यवहारिक र कार्यान्वयनयोग्य रहेको सन्देश दिन खोजिएको देखिन्छ । उहाँका समर्थकहरू यसलाई अनुभवी नेताको ‘रोडम्याप’ मानिरहेका छन् भने विपक्षी दलले कार्यान्वयन क्षमतामाथि प्रश्न उठाइरहेका छन् ।

    रूपन्देही–२ मा चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा विकास, रोजगारी र सुशासन मतदाताका मुख्य चासोका विषय बनेका छन् । यस्तो अवस्थामा विष्णु पौडेलले अघि सार्नुभएको २० बुँदे एजेण्डाले मतदातालाई कत्तिको विश्वस्त बनाउँछ भन्ने प्रश्न निर्णायक हुने स्थानीयको भनाइ छ । तर, उहाँले प्रस्तुत गरेको विकासको खाकाले यो निर्वाचनलाई व्यक्ति र दलभन्दा माथि उठेर ‘एजेण्डाको बहस’तर्फ उन्मुख गराएको बुटवल उपमहानगरपालिका–११ का मतदाता नबिना घिमिरे बताउनुहुन्छ ।

    घरदैलोदेखि कोणसभामा पौडेललाई मतदाताको आग्रह : हाम्रा माग सम्बोधन होस्

    आइतबार पौडेलले तिलोत्तमाको ३ नम्बरमा घरदैलो गर्नुभएको छ । त्यसै गरी बुटवल उपमहानगरपालिका–१० वडा सम्पर्क र बुटवल–६ को वडा सम्पर्क कार्यालयमा मतदातालाई भेट गरेर आफूले अघि सारेका प्रतिवद्धता पूरा गर्ने जनाउनुभएको छ । त्यसै गरी श्रृगैश्वरधाममा रहेका ज्येष्ठ नागरिकसँग भेटघाट, तिलोत्तमा–४ मा घरदैलो गरेका छन् । श्रृगैश्वरधाममा रहेका ज्येष्ठ नागरिकसँग पौडेलले एमाले नेतृत्वमा रहेको सरकारले अघि सारेका वृद्धभत्ता र सामाजिक सुरक्षा कार्यक्रमले ठूलो राहत दिएको र आगामी दिनमा जारी राख्ने बताउनुभयो ।

    पौडेल तिलोत्तमा नगरपालिकाका विभिन्न वडामा चुनावी अभियानमा व्यस्त देखिनुभयो । बिहान तिलोत्तमा–३ मा घरदैलो कार्यक्रमबाट सुरु भएको अभियान दिउँसो तिलोत्तमास्थित श्रृंगेश्वर धाममा ज्येष्ठ नागरिक भेटघाट र तिलोत्तमा–४ मा घरदैलोपछि ड्राइभरटोल चोकको कोणसभासम्म पुगेको थियो ।

    तिलोत्तमा–३ का स्थानीय मतदाता सीता अधिकारीले घरदैलोका क्रममा भन्नुभयो–‘विष्णु पौडेल पटक–पटक मन्त्री हुँदा यहाँका सडक, खानेपानी र विद्युत् विस्तारमा काम भएको हामीले देखेका छौं । अब अधुरा योजना पूरा हुने अपेक्षा गरेका छौं ।’ अर्का मतदाता रामकृष्ण खनालले भन्नुभयो–‘राजनीतिमा अनुभव भएका व्यक्ति फेरि निर्वाचित भए स्थिरता र विकास दुवैलाई निरन्तरता मिल्छ भन्ने विश्वास छ ।’

    श्रृंगेश्वरधाममा आयोजित ज्येष्ठ नागरिक भेटघाट कार्यक्रममा स्थानीय ज्येष्ठ नागरिक नन्दलाल न्यौपानेले भन्नुभयो–‘हामी वृद्धवृद्धाको सामाजिक सुरक्षाभत्ता समयमै पाउनुपर्छ, स्वास्थ्य सेवा सहज हुनुपर्छ । यसतर्फ उहाँको ध्यान जाओस् भन्ने चाहना छ ।’ अर्की ज्येष्ठ नागरिक कमला भट्टराईले थप्नुभयो–‘ज्येष्ठ नागरिकमैत्री पूर्वाधार र नियमित स्वास्थ्य शिविर आवश्यक छ, उम्मेदवारले यसलाई प्राथमिकतामा राख्नुपर्छ ।’

    तिलोत्तमा–४ मा घरदैलो गर्दै पौडेलले स्थानीयसँग प्रत्यक्ष संवाद गर्नुभएको छ । ड्राइभरटोल चोकमा आयोजित कोणसभामा बोल्दै उहाँले विकास, पूर्वाधार विस्तार र रोजगारी सिर्जनालाई मुख्य एजेण्डा बनाउनुभएको छ । उहाँले भन्नुभयो–‘रुपन्देही–२ लाई आधुनिक कृषि, उद्योग र पूर्वाधारका माध्यमबाट समृद्ध बनाउने हाम्रो स्पष्ट योजना छ । अधुरा सडक, सिँचाइ र खानेपानीका योजना पूरा गर्नु मेरो प्राथमिकता हो । युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाइनेछ । ज्येष्ठ नागरिकको सम्मान र सामाजिक सुरक्षालाई अझ प्रभावकारी बनाइनेछ । स्थिर सरकार र अनुभवी नेतृत्वमार्फत विकासले गति लिन्छ भन्ने विश्वासका साथ तपाईंहरूको मत माग्न आएको छु ।’ दिनभरको कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको थियो । एमाले कार्यकर्ताहरूले घरदैलो र कोणसभामा उत्साहजनक उपस्थिति जनाएको जनाइएको छ ।