२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

विश्वदीपसँग तिलोत्तमाबासीले भने–छाडा चौपाया व्यवस्थापनमा पहल होस्

आइतवार , फाल्गुण १०, २०८२

  • 142
    Shares
  • 142
    Shares
  • बुटवल, १० फागुन । तिलोत्तमा नगरपालिकाबासी मतदाताले रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ समक्ष छाडा चौपायाको समस्या डरलाग्दो बन्दै गएको भन्दै समस्याको समाधानका लागि पहल गर्न आग्रह गरेका छन् ।

    मतदाताले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार रहनुभएका पाण्डेसमक्ष विभिन्न अपेक्षा राख्दै छाडा चौपायाका कारण खेप्नुपरेको सास्तीबारे गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरुले तिलोत्तमा वडा नम्बर १ मा रहेको गौशाला अन्यत्र सार्न माग गरेका छन् । तिलोत्तमा नगरपालिकाभित्र रहेका छाडा चौपायाले समस्या पारिरहेका बेला अन्य क्षेत्रमा रहेका छाडा चौपाया समेत गौशालामा ल्याइने र केही दिनमै छाडिने गरेको गुनासो स्थानीयको छ ।

    घरदैलोको क्रममा आइतबार तिलोत्तमाको वडा नम्बर १ मा पुगेका पाण्डेसँग स्थानीय व्यवसायी टिकाराम भण्डारीले आफूहरुको पीडाप्रति कसैले पनि वास्ता नगरेको गुनासो गर्नुभयो । भण्डारीले अहिलेसम्म आफ्ना समस्या सुन्ने र देख्ने निकाय नभएको भन्दै उम्मेदवार विश्वदीपलाई अभिभावकीय भूमिका खेल्न आग्रह गर्नुभयो । छाडा चौपायाले स्थानीय कृषकको बालिनालीमा हानी नोक्सानी पुर्याउनुका साथै व्यवसायीलाई समस्या पार्दै आएका छन् । त्यति मात्र होईन, छाडा चौपायाकै कारण सडक दुर्घटना बढ्नुका साथै गाउँशहरमा फोहर समेत बढिरहेको छ ।

    मतदाताका मौखिक र लिखित समस्याबारे जानकारी लिएपछि उम्मेदवार पाण्डेले जनताका समस्या पुरा गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले सरोकारवाला निकायसँगको समन्वयमा समस्याको अल्पकालिन र दीर्घकालिन योजना बनाएर समाधान गरिने उल्लेख गर्नुभयो ।

    तिलोत्तमाका मतदाताले उम्मेदवार पाण्डेसँग तिनाउ नदीबाट आउने तपाह खोलाको पानीमा केमिकल, प्लाष्टिक र फोहर बगेर आउँदा धेरै कृषक प्रभावित भएको गुनासो समेत गर्नुभयो । कृषकको स्वास्थ्य सुरक्षाका लागि बुटवल क्षेत्रबाट नै फोहर फाल्न नदिइ फोहरको वैज्ञानिक व्यवस्थापन गनुपर्ने उनीहरुको माग छ ।

    स्थानीय व्यवसायी भण्डारीसहितले रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार पाण्डेलाई विभिन्न समस्याबारे १२ बूँदामा लिखित जानकारी गराउँदै तिलोत्तमाबासीका साझा माग र मुद्दाप्रति गम्भीर बन्न अनुरोध गरेका थिए । केहीबेर स्थानीयका समस्या सुनेपछि पाण्डेले यस क्षेत्रका समस्या समाधानका लागि जुनसुकै चुनौतीको सामना गरेर भएपनि हल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    उहाँले आफू यहीं क्षेत्रमा जन्मेहुर्केको व्यक्ति भएकाले आश्वासन बाँडेर भोट बटुल्न आफू नआएको बताउनुभयो । विगतमा आफूले संघीय सरकारको नेतृत्व गरेका नेताहरुसँग सहकार्य गर्ने अवसर पाएको र त्यो अनुभवलाई यस क्षेत्रका समस्या समाधान र विकासमा योगदान गर्न चाहेकाले उम्मेदवारी दिएको उहाँले मतदातासमक्ष बताउनुभयो । भेटमा मतदाताले विगतका उम्मेदवारले जस्तो आश्वासन मात्रै बाँडेर धोका नदिन र विजयीपछि काम विशेषबाहेक गाँउ छाड्ने काम नगर्न आग्रह गरेका थिए ।

    मतदातालाई आश्वस्त पार्दै उम्मेदवार पाण्डेले निर्वाचन सम्पन्न भएपछिका दिनमा जनपक्षीय काम गर्ने सवालमा कुनै शंका नगर्न र त्यसको परिणाम निर्वाचनपछि देखिने बताउनुभयो ।
    नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्तासहितको घरदैलो तिलोत्तमाको वडा नम्बर १ को बुद्धटोल, नयाँ चपरहट्टी टोल, शिवचोक, प्यारामाउण्ट टोल, मिलनटोल, प्रगतिटोल, सरस्वती टोलमा गरिएको निर्वाचन समितिका संयोजक नारायण जी.सी. ‘निर्मल’ ले बताउनुभयो ।

    उहाँका अनुसार वडा नम्बर ५ को नयाँमिल, डाईभरटोल र वडा नम्बर ४ को शिवपुर लगायतका क्षेत्रमा घरदैलो गरिएको छ । घरदैलोका क्रममा मतदातालाई आफ्नो अमूल्य मतले पाँच वर्षको लागि भाग्य र भविष्यको फैसला गर्ने भएकाले निकै संयमित र विचार पुर्याएर मतदान गर्न आग्रह गरिएको संयोजक जी.सी.को भनाइ छ ।