
सोमवार , बैशाख २०, २०७८
बुटवल, २० वैशाख । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रतामाथि हुने आक्रमणविरुद्ध मानव अधिकारकर्मी, नागरिक समाज, पत्रकार ऐक्यबद्ध भइ लाग्नुपर्नेमा जोड दिएका छन् । श्रमजीवी पत्रकारका समस्याप्रति सरकार उदासिन रहेको टिप्पणी गर्दै अध्यक्ष पोखरेलले सरकार नागरिकका अधिकार र प्रेसको अधिकार संकुचन गर्ने कार्यमा प्रयासरत रहेको बताए ।
विश्व प्रेस स्वतन्त्रता दिवस ३ मे का अवसरमा मानव अधिकार तथा शान्ति समाज केन्द्रिय समितिद्धारा आज आयोजित कोभिड प्रकोप र श्रमजीवी पत्रकारको अवस्था विषयक भर्चुवल अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले ४५ वटा प्रेस स्वतन्त्रताविरुद्ध भएका घटनामा ७७ जना महिला पत्रकारसहित ५ सय ८४ पत्रकारहरु पीडित भएको जानकारी गराए । मानव अधिकार र स्वतन्त्रता समुन्नत लोकतन्त्रका आधार भएको उनले बताए ।
४५ जनाको सहभागिता रहेको सो कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति गोविन्द खनाल, समाजका संस्थापक सदस्य कृष्ण कंडेल, पूर्व सभापति होमकान्त चौलागाई, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाई, सामाजिक अभियन्ता प्रताप पौडेल, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानी प्रसाद पाण्डे, महासंघ रुपन्देहीका सभापति रामराज पोख्रेल, समाजका सचिव पुष्पा मल्ल, अनुशासन समितिका संयोजक डिक घिमिरे लगायतले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता पूर्ण रुपले स्थापित भएमा मात्र मानव अधिकारको संरक्षण हुने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा शान्ति समाजका वरिष्ठ उपसभापति सुशील बस्नेत, महासचिव रामकृष्ण बराल, सचिव मिना ढकाल लगायतले नेपालको लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षाको लागि मानव अधिकार तथा शान्ति समाजले खेलेको भूमिकाको बारेमा चर्चा गरेका थिए ।
कोभिड कहरका कारण शान्ति समाजले मे १ दिन विश्व श्रमिक दिवस पनि भर्चुअलमार्फत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । कोरोना कहरको दोस्रो लहर निकै तीव्र गतिमा फैलिरहेकोले सचेत र सजग भइ सुरक्षित रहन शान्ति समाजले आग्रह गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij