२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

४५ वर्षदेखि सञ्चालनमा छ भैरहवाको ‘गुड वील टेलर्स’

आइतवार , फाल्गुण १०, २०८२

  • 220
    Shares
  • 220
    Shares
  • भैरहवा, १० फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२, कालिकापथस्थित लायन्स भवनमा रहेको ‘गुड वील टेलसै’ केवल कपडा सिउने पसल होइन, ४५ वर्षदेखि निरन्तरता, इमान्दारी र सेवाभावको कथा समेत हो । ग्राहकको चाहनाअनुसार डिजाइन, फिटिङ र समयमै डेलिभरी दिन थालेपछि यस टेलरको लोकप्रियता वर्षौंदेखि उकालो लागेको छ ।
    वि.सं. २०३९ सालमा शाह साहब हुसेनले सडकपेटीबाट सुरु गर्नुभएको  टेलरिङ्ग पेशा आज व्यवस्थित व्यवसाय बनेको छ । सुरुका दुई वर्ष सडकछेउमै सुई–धागो सम्हाल्दै हुसेनले संघर्ष गर्नुभयो । त्यसपछि आफ्नै पसल खोलेर निरन्तरता दिनुभयो । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित गल्लामण्डीमा

    जन्मिनुभएका ६६ वर्षीय हुसेन भन्नुहुन्छ–मैले पैसाको हिसाब कहिल्यै कडाइले राखिनँ । मेरो लक्ष्य सधैं परिवार खुसी राख्ने र छोराछोरीलाई पढाउने थियो ।’
    श्रीमती खैरुन, छोरीहरु नाजमा खातुन र शर्मिला खातुन, दुई छोरा समीर र सालीक हुसेनका अभिभावक हुसेन आफ्नो सबैभन्दा ठूलो सम्पत्ति सन्तानलाई मान्नुहुन्छ । ‘धनभन्दा शिक्षा ठूलो’ भन्ने कुरालाई आत्मसात गर्दै आफू अघि बढेको उहाँको भनाइ छ । कमाइको अधिकांश हिस्सा छोराछोरीको शिक्षामा लगानी गरेको र आर्थिक तुलना भन्दा सन्तुष्टीलाई प्राथमिकता दिएको उहाँ बताउनुहुन्छ ।

    आज ‘गुड वील टेलर्स’ भैरहवा क्षेत्रमा विश्वसनीय नाम बनिसकेको छ । विद्यालय–कलेजका विद्यार्थीदेखि सरकारी कर्मचारी, व्यवसायी र विवाह–उत्सवका ग्राहकसम्म यहाँको स्थायी छन् । परम्परागत दौरा–सुरुवालदेखि आधुनिक सूट–ब्लेजर र कस्टम डिजाइनसम्म, पसलले समयअनुसार सेवा विस्तार गरेको छ । हुसेन भन्नुहुन्छ–‘ग्राहकको शरीर र मन दुवै मिल्ने फिटिङ दिनु नै हाम्रो पहिचान हो ।’

    उमेर ढल्किँदै जाँदा उहाँले व्यवसाय पुस्तान्तरणको तयारी थाल्नुभएको छ । कम्प्युटर इञ्जिनियरिङ अध्ययन गर्नुभएका जेठा छोरा समीर हुसेन हाल बुवाकै टेलरिङ पेसा सम्हाल्दै हुनुहुन्छ । ‘इञ्जिनियरिङ पढे पनि सीप सिकेपछि आफ्नै ठाउँमा काम गर्न सकिन्छ भन्ने देखाउन चाहन्छु, हुसेन भन्नहुन्छ । कान्छा छोरा शालिक  आईटी इञ्जिनियरका रूपमा निजी कम्पनीमा कार्यरत हुनुहुन्छ । दुई छोरीहरु स्नातक तहको अध्ययन पूरा गरी वैवाहिक जीवनमा बाँधिएका छन् ।

    हुसेनको सोचाइमा स्वदेशमै अवसर सिर्जना गर्नु सम्भव छ । ‘विदेशमा दुःख गरेर कमाउनुभन्दा आफ्नै देशमा सीप र मेहनतले सम्मानित जीवन जिउन सकिन्छ, ’उहाँले भन्नुभयो । पछिल्लो समय युवाको विदेश पलायनले नेपालमा दक्ष जनशक्तिको अभाव बढ्दै गएको उहाँको बुझाइ छ । सरकारले सीप–आधारित तालिम र साना व्यवसाय प्रवद्र्धनमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

    चार दशकभन्दा बढी समय सुई–धागोसँग बिताउनुभएका हुसेन अब विस्तारै जिम्मेवारी सन्तानलाई सुम्पेर समाजसेवामा समय दिन चाहनुहुन्छ । ‘छोराले राम्रोसँग सम्हाल्न सकेपछि म रिटायर भएर समुदायका काममा लाग्छु, ’उहाँले भन्नुभयो ।

    गुड वील टेलर्सको कथा केवल व्यवसायिक सफलताको कथा होइन, यो श्रमप्रतिको सम्मान, शिक्षाप्रतिको लगानी र स्वदेशमै सम्भावना देख्ने विश्वासको कथा हो । सिद्धार्थनगरको व्यस्त गल्लीमा टिकेर उभिएको यो सानो पसलले देखाएको छ–निरन्तरता, गुणस्तर र इमान्दारीता भए ग्राहकको मन जित्न समय लाग्दैन ।