२०८२, फाल्गुण १० गते

Feb 22 2026 | २०८२, फाल्गुण १० गते

चुनाव जित्न मात्र होइन, यो माटोको ऋण तिर्न आएको हुँ : पाण्डे

आइतवार , फाल्गुण १०, २०८२

  • 199
    Shares
  • 199
    Shares
  • बुटवल, १० फागुन । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ ले आफना मतदातालाई कार्यकर्तामार्फत पत्र पठाउँदै यस क्षेत्रको माटोको ऋण तिर्न आफू आएको बताउनुभएको छ । आफू यहींको माटोको धुलोमा खेलेर हुर्किएको, यहींको सुखदुःख भोगेको एउटा छोरो भएको भन्दै उनले पाहुना उम्मेदवार जस्तो कतै भागेर नजाने बताउनुभएको हो ।

    मतदाताका नाममा भावनात्मक पत्र लेख्दै उम्मेदवार पाण्डेले भन्नुभयो–‘म यहींको सुख दुःख भोगेको तपाईंकै घरको एउटा छोरो हुँ । मलाई विपक्षी साथीहरुले सोध्नुहुन्छ–‘हिजो बावुराम भट्टराई र भक्ति पाण्डे चुनावमा पराजित भएको ठाँउमा किन आयौं ?’ म उहाँहरुलाई भन्न चाहन्छु – ‘हार र जीत त एउटा पाटो हो । तर, यो मेरो जन्मभूमि हो, मेरो कर्मभूमि हो ।’
    उहाँले आफ्ना बुवा स्वर्गीय भक्ति पाण्डेले यस क्षेत्रको विकासका लागि देखेको सपना पूरा गर्न आफूले उम्मेदवारी दिएको उल्लेख गर्नुभयो । ‘ती सपनाहरु आज पनि यहीं माटोमा जीवित छन। ती अधुरा सपनाहरु पुरा गर्ने जिम्मेवारी मेरो काँधमा छ । म यहाँ चुनाव जित्न मात्र होइन, यो माटोको ऋण तिर्न आएको हुँ’ उहाँले भन्नुभयो ।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बन्नुभएका विश्वदीपले बुटवल धागो कारखाना जस्ता उद्योग बन्द हुनु र नेपालीहरु दैनिक खाडी मूलुकमा पसिना बगाउन जानुपर्ने बाध्यता नेताहरुले नै सिर्जना गरेको उहाँले मतदातालाई पठाउनुभएको पत्रमा उल्लेख छ ।

    उहाँले भन्नुभयो–‘नेताहरुले कुर्सी त पाए, तर यो माटोको माया पाएनन् । म तपाईहरुलाई विश्वास दिलाउन चाहान्छु–म यहींको छोरो हुँ । म कतै भागेर जानेछैन । बुटवलको विकास, उद्योगको पुनरुत्थान र युवाहरुलाई रोजगारी मेरो पहिलो र अन्तिम संकल्प हो ।’ उनले यस क्षेत्रलाई विकासको नमूना बनाउन सबैको साथ सहयोग जरुरी रहेको पनि मतदाताको नाममा लेखिएको पत्रमा उल्लेख गर्नुभएको छ ।