शनिवार , फाल्गुण ९, २०८२
रुपन्देही, ९ फागुन । रुपन्देही क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार बाबुलाल यादवले आफ्नो चुनावी अभियानलाई अगाडि बढाउनुभएको छ । ‘जनताको सुख–दुःखमा सधैँ साथ’ भन्ने नारासहित यादव अहिले टोल–टोलमा पुगेर मतदाताको मन जित्ने प्रयासमा हुनुहुन्छ ।
रुपन्देही–४ अन्तर्गत पर्ने कोटहीमाई गाउँपालिकाका विभिन्न वडाहरूमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा उम्मेदवार यादवले मर्चवार क्षेत्रको पिछडिएको अवस्थालाई आर्थिक, भौतिक र साँस्कृतिक क्रान्तिमार्फत सुधार्न आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । घरदैलोका क्रममा स्थानीय किसानहरूसँग कुरा गर्दै यादवले भन्नुभयो–‘यो क्षेत्र कृषिमा आधारित छ । तर, किसानले अझै पनि उन्नत बिउ, मलखाद र सिँचाईको समस्या झेल्नुपरेको छ, जो दुःखद छ । मैले जितेर गएपछि कृषि सुधार र सिमानामा हुने सास्तीलाई व्यवस्थित गर्न प्राथमिकता दिनेछु ।’
उहाँले मर्चवार क्षेत्रमा कृषिका लागि बाह्रै महिना सिँचाई सुविधा पुर्याउने र कृषि उपज संकलन केन्द्र निर्माणको कार्य गर्ने बताउनुभयो । उहाँले स्थानीय युवाहरूलाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य गर्न साना तथा घरेलु उद्योगको प्रवर्धनका लागि काम गर्ने बताए । उनले भने, ‘भौतिक पूर्वाधार, शिक्षाको गुणस्तर अभिबृद्धी तथा स्वास्थ्य चौकीहरूमा दक्ष जनशक्तिको सुनिश्चितता गर्नेछु ।’ यहाँबाट जितेर गएका नेताहरूले मर्चवारको विकासमा ध्यान नदिएको भन्दै स्थानीयले यसपटक नयाँ र कर्मठ नेतृत्व खोजेको बताउदै एक मतदाताले भने, ‘हामीलाई आश्वासन होइन, काम गर्ने मान्छे चाहिएको छ । बाबुलालजी जनताको बीचमै रहने व्यक्ति हुनुहुन्छ, त्यसैले उहाँप्रति हाम्रो आशा छ ।’
भेटघाटका क्रममा उम्मेदवार यादवले आफू कुनै व्यक्तिगत लाभका लागि नभइ यस क्षेत्रको मुहार फेर्नका लागि राजनीतिमा आएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘विगतमा धेरैलाई जिताउनुभयो । तर, मर्चवारले केही पाउन सकेन । यसपटक मलाई अवसर दिनुस्, म यो क्षेत्रको सेवक बनेर काम गर्ने प्रतिज्ञा गर्दछु ।’
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij