२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

साई ग्लोबल कप : होराइजन जीबीएस र नविन औद्योगिक विजयी

शनिवार , फाल्गुण ९, २०८२

  • 154
    Shares
  • 154
    Shares
  • भैरहवा, ९ फागुन ।  ११ औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगितामा होराइजन जीबीएस र नविन औद्योगिक कदर बहादुर रायमाझी माध्यमिक विद्यालय विजयी भएका छन् । शुक्रबार भएका दुई खेलमा होराइजन जीबीएसले भैरहवा नमूना माविलाई ९९ रनले हराउँदै जित निकँल्दा नविन औद्योगिकले मणिमुकुन्द कलेजलाई २ विकेटले पराजित गर्दै जीत हात पारेको हो ।

    रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजन जीबीएसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७८ रनको बलियो योगफल बनायो । उसका लागि कृष्ण कार्कीले ७९, सचिन जीसीले ३९, रोशन गौतमले २४ र अनुज अर्यालले ११ रन बनाए । बलिङमा भैरहवा नमूनाका दिनेश यादव, निश्चल आनद र सन्दीप रजालीले समान २–२ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको भैरहवा नमूना १२ ओभर ३ बलमा सबै विकेट गुमाएर ७९ रनमै समेटियो । उसलाई सस्तैमा रोक्न बलिङमा होराइजन जीवीएसका कृष्ण कार्कीले ३, साहज अर्याल, रोशन गौतम र सहन मुसलमानले समान २–२ विकेट हात पारे । भैरहवा नमूनाका सन्दीप रजालीले ३६ र सन्तोष साउदले ३५ रन बनाए । खेलमा कृष्ण कार्की प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

    त्यस्तै दोस्रो खेलमा टस जितेर ब्याटिङमा आएको मणिमुकुन्दले १७ ओभर ३ बलमा सबै विकेट गुमाएर ९१ रनको झिनो योगफल बनायो । उसका लागि रन्जित खड्काले २५, केशव रायमाझीले १४ र अर्पण तिमिल्सिनाले ११ रन बनाए । बलिङमा नवीन औद्योगिकका विशाल गिरीले ५, अर्जुन तरामु र अजय यादवले २–२ तथा कुशल घिमिरले १ विकेट हात पारे ।

    प्रतिउत्तरमा नवीन औद्योगिकले १७ ओभर ५ बलमा ८ विकेट गुमाएर ९४ रन बनाउँदै जित हात पार्यो । उसको जितमा विवेक जैसवालले १९, मदन कार्कीले नटआउट १८, केशव घिमिरेले १५ र स्वीकृत पौडेलले १२ रन जोडे । बलिङमा मणिमुकुन्दका अर्पण तिमिल्सिनाले ३, रन्जित खड्का र सुजन भण्डारीले २–२ तथा आर्यन विकले १ विकेट लिए । खेलमा विशाल गिरी प्लेयर अफ द म्याच भई एक हजार रुपैयाँ प्राप्त गरे ।

    फागुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका विभिन्न २० वटा कलेजहरुको सहभागिता रहेको खेल संयोजक निरज प्रताप खाणले बताए । प्रतियोगिताको विजेता टीमले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेता टीमले नगद २५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

    त्यस्तै म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बलरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको अनुशासित टिमलाई पनि सम्मानित गरिने आयोजकले जनाएका छन् ।