२०८२, फाल्गुण ८ गते

Feb 20 2026 | २०८२, फाल्गुण ८ गते

जलवायु परिवर्तनको असर पर्यटनमा पर्दा महिलाहरू सबैभन्दा बढी मारमा : मन्त्री श्रेष्ठ

शुक्रवार , फाल्गुण ८, २०८२

  • 199
    Shares
  • 199
    Shares
  • काठमाडौं, ८ फागुन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे चिन्ता व्यक्त गर्नुभएको छ । 

    उहाँकाअनुसार जलवायुजन्य विपद्का कारण पर्यटन क्षेत्र प्रभावित हुँदा त्यसको सबैभन्दा ठूलो मार महिलाहरूमाथि परिरहेको हो । नेपालको पर्यटन क्षेत्र प्राकृतिक भूदृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले हिमताल विस्फोट, अनियमित हिमपात, पहिरो र पानीको अभाव जस्ता घटनाले पर्यटनलाई अवरुद्ध गरिरहेको बताउनु भयो ।

    पर्यटनमा आधारित समुदायका महिलाहरू प्रायः अनौपचारिक र मौसमी आम्दानीमा निर्भर हुने बताउनु भयो । होमस्टे सञ्चालन, स्थानीय उत्पादन विक्री, होटलमा काम र सांस्कृतिक सेवामार्फत उनीहरूले जीविकोपार्जन गरिरहेका छन् । जलवायु परिवर्तनका कारण पर्यटन अवरुद्ध हुँदा यी अवसरहरू गुम्ने गरेको मन्त्री श्रेष्ठको भनाइ छ । मन्त्री श्रेष्ठले जलवायु वित्तपोषणमा रहेका संरचनात्मक समस्याहरू औंल्याउँदै अधिकांश ‘रेजिलेन्ट फण्ड’ पूर्वाधार विकासमा मात्र केन्द्रित रहेको बताउनु भयो ।

    उहाँले यसलाई ‘जेन्डर ब्लाइन्ड क्लाइमेट फाइनान्सिङ’ को संज्ञा दिनुभयो । ग्रामीण पर्यटन अर्थतन्त्र अझै पनि अनौपचारिक रहेकाले धेरै महिलाहरू सामाजिक सुरक्षा बिना नै जोखिमपूर्ण अवस्थामा काम गरिरहेको बताउनु भयो । जलवायु परिवर्तनले बसाईंसराई बढाएको र धेरैजसो पुरुषहरू रोजगारीका लागि बाहिरिँदा महिलाहरूमाथि घर, खेतीपाती र सामुदायिक विपद् व्यवस्थापनको ‘त्रिगुणीय बोझ’ थपिएको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो ।

    यस्तो अवस्थामा पर्यटन क्षेत्र उनीहरूको लागि जीवनरेखा बन्ने गरेको छ । जलवायु सहनशील पर्यटनका लागि वित्तपोषण भनेको केवल सडक र भवन निर्माण मात्र नभई यो मानिसमा, विशेष गरी महिलामा गरिने लगानी हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘नेपालको पर्यटन क्षेत्र हाम्रो प्राकृतिक भूदृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदासँग गहिरो रुपमा जोडिएको छ । तर हिमताल विस्फोट, अनियमित हिमपात र ट्रेकिङ सिजन पदमार्ग अवरुद्ध गर्ने पहिरो, पर्यटकीय क्षेत्रमा पानीको अभाव, जैविक विविधताको क्षय र सम्पदाको क्षति जस्ता गम्भीर जलवायुजन्य घटनाहरुले पर्यटनलाई बढ्दो रुपमा प्रभावित पारेको छ र जब पर्यटन घट्छ सबैभन्दा बढी असर त्यसले महिलालाई पारेको छ । धेरै टुरिजम डिपेन्डेन्ट कम्युनिटीमा महिलाहरु अनौपचारिक तथा सिजनल आम्दानीमा निर्भर हुन्छन् ।

    होमस्टे सञ्चालन, स्थानीय उत्पादन विक्री, लज तथा होटलमा काम, लोकल ठाउँको गाइडिङ, खाना पकाउने वा सांस्कृतिक सेवा प्रदान गर्नेमार्फत । जब जलवायुको इम्प्याक्ट पर्यटनमा परेर यसलाई अवरुद्ध गर्छ, यी आयआर्जनका अवसरहरु हराउँछन् । महिलामुखी परिवारहरु विशेष रुपमा बढी यसबाट प्रभावित हुन्छन् । महिलाहरु बढी जोखिममा हुनुका कारण स्पष्ट छन्, तीन वटा कुराहरु छन् ।

    उनीहरुको वित्तीय पहुँच सीमित हुनु, जमिनको स्वामित्व उनीहरुमा न्युन हुनु र उनीहरु प्रायः इन्फर्मल तथा कम पारिश्रमिकमा काममा सिमित हुन्छन् । यो केवल वातावरणीय मुद्दा मात्र होइन, यो लैङ्गिक न्यायको मुद्दा पनि हो । पर्यटन र लैङ्गिक दृष्टिकोणबाट हेर्दा केही संरचनात्मक समस्याहरु पनि अझै विद्यमान छन् ।

    पहिलो, अधिकांश क्लाइमेट फण्ड जुन यो रेजिलेन्ट फण्ड भनेर जति पनि आउँछ, यो चाहिँ पूर्वाधार विकासमा हामीले सीमित र केन्द्रित रहेको देख्या छौँ । साथै लैङ्गिक आधारमा तथ्याङ्क अभिलेखनको अभावका कारण महिलाद्वारा सञ्चालित व्यवसायमा कति लगानी भइरहेको छ भन्ने मापन गर्न कठिनाइ भइरहेको छ । यसलाई हामी जेन्डर ब्लाइन्ड क्लाइमेट फाइनान्सिङ भन्छौँ ।

    दोस्रो, ग्रामीण पर्यटन अर्थतन्त्र अझै पनि धेरै हदसम्म अनौपचारिक छ । धेरै महिलाहरु औपचारिक दर्ता बिना होमस्टे सञ्चालन गरिरहेका छन् र सामाजिक सुरक्षा बिना मौसमी रुपमा काम गर्छन् तर उनीहरु नै सबैभन्दा बढी जलवायु जोखिममा छन् । तेस्रो, पर्यटन पूर्वाधार र योजना प्रायः लैङ्गिक संवेदनशील हुँदैन । सुरक्षा, सरसफाइ, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच जस्ता पक्षहरुलाई प्रायः व्यवस्था गरिएको छ ।

    जलवायु परिवर्तनले बसाईंसराई पनि बढाउँछ । धेरै अवस्थामा पुरुषहरु रोजगारीको लागि बाहिरिन्छन् । महिलाहरु घर, खेतीपाती र सामुदायिक विपद् व्यवस्थापनको त्रिगुणीय बोझ बहन गर्न बाध्य हुन्छन् । यस्तो अवस्थामा पर्यटन उनीहरुको लागि जीवनरेखा बन्छ । त्यसैले उनीहरुलाई अर्थतन्त्रसँग जोड्न र सुरक्षाको साटो जीविकोपार्जन रोज्न पनि अवस्था जगाउँछ ।

    अब प्रश्न उठ्छ, जलवायु सहनशीलता वित्तपोषणले पर्यटन क्षेत्रमा महिलालाई कसरी सघाउने ? प्रायः जलवायु कोष ठूला पूर्वाधारमा केन्द्रित हुन्छन् अघि पनि मैले कुरा निकालिसक्या थ्यो तर महिला उद्यमीहरु बाहिरै रहन्छन् । अनौपचारिक व्यवसाय ऋण र बीमा प्रणालीबाट वञ्चित छन् ।

    लैङ्गिक आधारको लगानी स्पष्ट अभिलेख छैन र जलवायु अनुकूल योजनामा महिलाको नेतृत्व प्रायः स्थान दिइँदैन । जलवायु सहनशील पर्यटनका लागि वित्तपोषण भनेको केवल सडक र भवन निर्माण मात्र नभई यो मानिसमा लगानी गर्नुपर्ने हो र त्यसमा पनि विशेष महिलामा ।

    यसका लागि महिलाद्वारा सञ्चालित उद्यममा सहज पहुँच योग्य जलवायु कोष, सहकारी सुदृढीकरण, पानी तथा नवीकरणीय ऊर्जा जस्ता लैङ्गिक संवेदनशील पूर्वाधारमा लगानी र वन, पदमार्ग, पानी स्रोत तथा सांस्कृतिक सम्पदा संरक्षणमा महिलाले गरेको योगदानको मान्यता आवश्यक छ । पर्यटनबाट प्राप्त आम्दानीलाई सामुदायिक सहनशीलतासँग जोड्दै संरक्षण गर्नेहरुलाई प्रत्यक्ष लाभ सुनिश्चित गर्नु आजको आवश्यकता हो ।’

    उहाँले महिलाद्वारा सञ्चालित उद्यममा सहज पहुँचयोग्य जलवायु कोष, सहकारी सुदृढीकरण र नवीकरणीय ऊर्जा जस्ता लैङ्गिक संवेदनशील पूर्वाधारमा लगानी आवश्यक रहेको बताउनु भयो । पर्यटनबाट प्राप्त आम्दानीलाई सामुदायिक सहनशीलतासँग जोड्दै संरक्षणमा योगदान पु¥याउने महिलाहरूलाई प्रत्यक्ष लाभ सुनिश्चित गर्नु आजको आवश्यकता रहेको उहाँको भनाइ छ ।